Odapalika - The Fourth Estate - चौथो अंग
संघीय गणतान्त्रिक संविधानका ९ वर्ष, सर्वस्वीकार्य बनाउने चुनौतीबीच संशोधनको बहस 

काठमाडौँ । आज देशभर विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदै छ । दिवसको अवसर पारेर सरकारले ३ दिन विविध कार्यक्रम गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रलाई आह्वान गरिसकेको छ ।

संघीय सरकारले आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन् भने देशका सबै संवैधानिक अंगका प्रमुख र पदाधिकारीदेखि राजनीतिकर्मी हुँदै सर्वसाधारणसमेत सो कार्यक्रममा सहभागी हुँदैछन् । 

संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने समारोहपछि  आजै साँझ राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम । 

संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि  विभिन्न कार्यक्रमको आयोजना गरिने छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम हुनेछन् ।

नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट विस २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । 

पैँतिस भाग ३०८ धारा र ९ वटा अनुसूची भएको नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आजै नौ वर्ष पूरा भएको छ ।

तर अझैपनि संविधान भने सर्वस्वीकार्य हुन सकेकाे छैन । संविधान जारी गर्न सहमत भएका राजनीतिक दलहरु नै ९ वर्षपछि संशोधनको एजेण्डा अघि सारेर बहस गरिरहेका छन् । 

संघीयता, धर्मनिरपेक्षता जस्ता विषयमा असन्तुष्ट जनाउँदै आएका एकथरी दल र समूहले अझैपनि संविधानलाई अपनत्व गर्न सकेका छैनन् । 

सहमति र असहमति कै बीच हिजोबाट सुरु भएको संविधान दिवस मनाउने क्रम भोलिसम्म कायम रहने छ ।

संविधान दिवसकै खुसियालीमा नागरिकस्तरबाट काठमाडौँको दरबारमार्गमा राष्ट्रिय दिवस साङगीतिक प्रस्तुती हुनेछ । 

यसैबीच, संविधान दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरु, स्थानीय तहका प्रमुखहरुले शुभकामना सन्देशमार्फत उल्लासमय वातावरणमा राष्ट्रिय दिवस भव्य रूपमा मनाउन आम–जनसमुदायलाई आह्वान गरेका छन् ।

सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ । सार्वजनिक सवारीमा पनि झण्डा राख्न भनिएपनि यसको कार्यान्वयन भने भएको देखिएको छैन ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update