Odapalika - The Fourth Estate - चौथो अंग
फोहोर व्यवस्थापन सुधार्न अन्नपूर्ण न्युरो अस्पताललाई काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहोर व्यवस्थापनमा अहिलेको अवस्थालाई सुधार गर्न सात दिनको समय दिएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको अनुगमन टोलीले फोहर उत्पादन स्थल, उत्पादन हुँदा वर्गीकरण, फोहर जम्मा गर्ने, जम्मा भएको फोहोर संकलन केन्द्रसम्म ढुवानी, निर्मलीकरण र अन्तिम व्यवस्थापनमा हानीकारक फोहरको अवस्था हेरेको थियो । 

महानगरपालिकाले फोहर व्यवस्थापन अवस्था हेरेको यो तेस्रो वर्ष हो । दोस्रो वर्षपछि महानगरपालिकाले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखासँगको समन्वयमा समस्या देखिएका अस्पतालहरुबाट फोहर व्यवस्थापनका फोकल पर्सनहरुलाई जम्मा गराएर तालिम पनि दिएको थियो । यस तालिममा अन्नपूर्ण न्युरो अस्पतालबाट दुईजनाले भाग लिएका महानगरले जनाएको छ । 

यससँगै हरेक पटक सुधारको अवसर प्रदान गरिँदै आएको छ । यसरी दिइएको निर्देशनबाट सामान्य सुधार आएको छ । तर, अस्पतालको दायित्वमा जति काम पर्छन् । त्यो भने हुन सकेको नसकेपछि सात दिनभित्र सुधार्न समय दिएको महानगरले जनाएको छ । 

महानगरको टोलीले पुग्दा आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहोर वर्गीकरणमा एकरुपता नदेखेपछि समय दिइएको हो । 

‘बिनको रङ्ग संकेत फरक थियो । सर्वसाधारणले कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानीकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको छ, यो प्रविधिबाट निर्मलीकरण भएको फोहोर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था देखिएन । विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लाष्टिकमा पोको बनाइएको फोहर थियो । यससँगै पानी बगिरहेको थियो । सबैभन्दा महत्वपूर्ण कुरा भनेको, फोहर संकलन केन्द्र भूमिगत तलामा छ । भूमिगत तला पार्किङ प्रयोजनका लागि हो,’ महानगरले भनेको छ । 

अनुगमन टोलीले हानीकारक फोहरलाई सामान्य फोहरमा मिसिनबाट रोक्न, संक्रमित फोहर निर्मलीकरणको प्रबन्धमा सामान्य फोहर हटाउन, अस्पताल सञ्चालन अनुमति लिँदा पेस गरिएको क्षेत्र विभाजन सम्बन्धी कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update