काठमाडौँ । देशभर आज नवौँ संविधान तथा राष्ट्रिय दिवस मनाइँदै छन् । केही व्यक्ति, संस्थाबाहेक देशभर आज हर्षाेल्लासका साथ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ ।
बिहान सैनिकमञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली संयोजक रहेको संविधान दिवस मूल समारोह समितिले विशेष कार्यक्रमको आयोजना गरेको थियो भने अहिले भनिएको नागरिकस्तरमा दरबारमार्गमा नेसनल डे कन्सर्ट भइरहेको छ ।
कन्सर्टमा चलाइरहेकी सुगारिका केसीले बारम्बार भनिरहेकी छन्, ‘यो संविधानले हामीलाई बोल्न दियो ।’ उनले भनेजस्तै वाक् स्वतन्त्रताको अधिकार संविधानले दिएको छ । मौलिक हकअन्तर्गत नै नेपालको संविधानको धारा १७ को उपधारा २ (क) मा विचार र अभिव्यक्तिको स्वतन्त्रता, (ख) मा बिनाहातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता र (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता सुनिश्चित गरेको छ ।
२०७२ असोज ३ गते संविधान जारी भएयता अधिकांश नेताहरुले राजतन्त्र फ्यालेर बोल्ने अधिकार ल्याएको बताउने गरेका छन् । तर, देशभर संविधान तथा राष्ट्रिय दिवस मनाइरहँदा, दरबारमार्गमा भइरहेको नेसनल डे कन्सर्टमा ‘बालेन..बालेन..बालेन’ भन्ने नारा लगाएकै कारण केही केही युवक कुटिए । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकलाई कुट्ने को हुन् ? बाक्लो सुरक्षाकर्मी उपस्थित स्थानमा बालेनका समर्थकलाई कुट्ने कार्य कसले र किन ग¥यो ? यसको जवाफ जिम्मेवार निकायले दिनुपर्ने हुन्छ । तर, हालसम्म यसबारे केही सार्वजनिक भएको छैन ।
बिहीबार नेसनल डे कन्सर्टमा कुटिएका बालेन समर्थक मंगलबार इन्द्रजात्राका दिन प्रहरीको नियन्त्रणमा परे । बालेन तस्बिर अंकित र बालेन लेखिएको टिसर्ट लगाएकै कारण बालेनका समर्थक प्रहरीको नियन्त्रणमा परे ।
उनीहरुले शान्तिसुरक्षामा खलल पुग्ने त्यस्ता के कार्य गरे ? जसकारण उनीहरुलाई नियन्त्रणमा लिनुपर्यो । प्रहरी बालेन समर्थकलाई नियन्त्रणमा राख्छ, सार्वजनिक कार्यक्रममा बालेन समर्थक पिटिएका छन् । तर, कारण केही भनिएको छैन । यसर्थ बोल्न, शान्तिपूर्वक हिँड्डुल गर्न दिएको भनिएको संवैधानिक अधिकार बालेनका समर्थकबाट कसले र किन खोसिरहेको छ ?