काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सक (डाक्टर) निजी अस्पतालमा गएर काम गर्न नपाउने बताएका छन् ।
चितवनमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा डाक्टर बिरामीको स्वास्थ्य परीक्षण गर्न निजी अस्पतालमा जान नपाउने बताएका छन् ।
केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै उनले काम गर्ने समयमा चिकित्सक सरकारी अस्पतालमा उपलब्ध हुनुपर्ने बताए ।
स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरेर जनतालाई स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने गरी काम गरिरहेको जानकारी दिएका उनले स्वास्थ्य क्षत्रमा क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए ।
उनका अनुसार स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका कार्य थालिएको छ ।