Odapalika - The Fourth Estate - चौथो अंग
प्रमाणपत्र सच्याउने अवधि ५ वर्ष लम्बियो, यसरी फाइदा लिन सक्छन् विद्यार्थीले 

काठमाडौँ । शैक्षिक प्रमाणपत्रमा नाम उमेर, जात आदि गल्ती भएको छ तर सच्याउन नपाएर हैरान हुनुहुन्छ ? त्यस्तो छ भने अब तपाईले पमाणपत्र बनेको ५ वर्षभित्रमा सच्याउने अवसर पाउनु भएको छ । 

सरकारले ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई परिमार्जन गरी यस्तो व्यवस्था गरेको हो । 

शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थी मर्कामा परेको भन्दै नयाँ व्यवस्था गरिएको हो । 

अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि ६ महिनाबाट वढेर ५ वर्ष कायम भएको गृह मन्त्रालयले जनाएको छ ।गृहमन्त्रीको सचिवालयका उपसचिव वेदनिधि खनालले सहज बनाउने र त्रुटी भएको सच्याउने समय थप हुनेगरी नियम पारित भएको जानकारी दिए । 

शैक्षिक प्रमाणपत्र सच्याउने बाध्यतामा रहेका नयाँ वा पुरानो नागरिकताबाहेक सबैले एक वर्षभित्र राष्ट्रिय परीक्षा बोर्डमा दरखास्त दिन सक्नेछन् ।

शैक्षिक प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकतासम्बन्धी प्रचलित कानुनबमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा १२ को प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकका लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सक्नेछ ।

तर कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर संशोधन गराएकामा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबुआमाको नाम वा थर वा नामथर सच्याउन ५ वर्षभन्दा पुरानो कुनै व्यक्तिले पनि एक पटकका लागि यो उपनियम प्रारम्भ भएको एक वर्षभित्र दरखास्त दिन सक्ने संशोधित नियममा उल्लेख छ ।

त्यसैगरी नागरिकता सच्याएको एक वर्षभित्र पनि शैक्षिक प्रमाणपत्र सच्याउन दरखास्त दिन पाइने छ । गृहमन्त्रालयले मन्त्रिपरिषद् बैठकले उक्त नियम पारित गरेको जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update