Odapalika - The Fourth Estate - चौथो अंग
बस्ती आसपास बाघ देखिएपछि वडाले गरायो स्थानीयलाई सचेत 
प्रतीकात्मक तस्बिर

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ मा बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सचेत गराएको छ । 

बुधबार बस्ती आसपास बाघ देखिएको र बिहीबारको निरीक्षणपछि स्थानीयलाई बिहान बेलुका हिँड्ड्ल गर्दा सावधान अपनाउन आग्रह गरिएको ३ नम्बरका वडाध्यक्ष विकास थापाले वडापालिकालाई जानकारी दिए । 

‘अस्ति पुङ्गी खोलाको झाडीतिर बाघ देखिएको थियो । हिजो नगर प्रहरीसहित उक्त स्थानमा गएर हेरेका थियौँ,’ उनले भने, ‘आज सार्वजनिक सूचना जारी गरेर स्थानीयलाई सचेत रहन आग्रह गरेका छौँ ।’ 

स्थानीयलाई झाडी सफा गर्नदेखि बिहान बेलुका हिँडडुल गर्दा सावधानी अपनाउन सचेत गराइएको उनले बताए । 

‘यस भरतपुर महानगरपालिका वडा नं. ३ को भानु नौघरे टोल विकास संस्थाको पछाडिपट्टी पुङ्गी खोलाको झाडी तथा लिटिल फ्लावर स्कूल आसपास विभिन्न स्थानहरुमा बाघ देखिएको भन्ने प्रत्यक्षदर्शीको भनाई सुन्नमा आएकाले आ–आफ्नो बस्ती अन्तर्गतका बाटो वरीपरी रहेका झाडीहरु सरसफाई गर्ने लगायत विहान बेलुकाको समयमा हिंडडुल गर्दा आवश्यक सचेतता अपनाउनु हुन वडावासीहरुमा जानकारी गराइन्छ,’ जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ । 

केही समयअघि भरतपुर महानगरको बीच बस्तीमा बाघ देखा परेको थियो । सोही बाघ बुधबार पनि देखिएको हो कि भन्ने अनुमान गरिएको छ । 

WhatsApp-Image-2024-09-20-at-16.49.06-1726830956.jpeg
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update