Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !

काठमाडौँ । नेपालमा हुने निर्वाचन महंगो र भड्किलो हुने भन्दै आलोचना हुने गरेको छ । यसलाई रोक्न खर्चको मापदण्ड पनि कानुनतः तोकिएको छ । तर, चुनावका बेला पैसा खर्च गरेर भोट आफ्नो पक्षमा पार्न उम्मेदवार सक्रिय हुने गरेका छन् । 

हरेक निर्वाचनपछि उम्मेदवारले आफ्नो खर्च विवरण निर्वाचन आयोगका बुझाउने गरेका छन् । तर, त्यसरी बुझाउने विवरण गलत रहेको पुष्टि हुने गरी प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएका छन् । 

२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन भएका प्रचण्डले प्रतिनिधिसभा सदस्य निर्वाचनमा जित्न ५० करोड गर्नुपर्ने अवस्था आएको अभिव्यक्ति दिएका छन् । 

उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । 

काठमाडौँमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा १० करोड र संघमा ५० करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो ।’ 

पैसा खर्च गरेर आएका जनप्रतिनिधिले भ्रष्टाचार र अनियमितता गरेको भन्दै उनले यसलाई रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनुपर्ने बताए । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update