Odapalika - The Fourth Estate - चौथो अंग
सामुदायिक शिक्षा सुधार्ने श्रृङ्गेरीका सुत्र

एकदिने हाइकिङ रुट सहितको चर्चित पर्यटकीय स्थल लाँकुरीभञ्ज्याङ्को फेदी, महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारको सिस्नेरी । धम्मागर ध्यानकेन्द्र र भिमेश्वर वैभवधाम हुँदै हाइकिङ् हिँड्ने बाटोमै खोला छेउमा दुखसाथ टाँसिएको ३ वटा सानासाना भवनमा बाक्लै चहलपहल सहित विद्यार्थीहरु देखिन्छन् । यो हो २९ वर्षअघि स्थापना भएको श्रृङ्गेरी सामुदायिक विद्यालय । 

दैनिक रुपमा विद्यालय सुरु हुने बेलामा श्रृङ्गेरी माध्यमिक विद्यालय पुग्दा जो कोही छक्क हुन्छन् जब पालैपालो शिक्षकहरु विद्यार्थीलाई मूल ढोकाको दायाँवायाँ बसेर स्वागत गर्छन् । विद्यालयको दैनिकीमा त्यसपछि सुरु हुन्छ सांगितिक एसेम्ब्ली । 

school-1727001187.jpg
रौतहटबाट सरुवा भएर श्रृङ्गेरी आएकी शिक्षक निर्मला वाइवाले एसेम्ब्लीको शैली बदल्दा ढिलो आउने विद्यार्थीहरुको दैनिकी नै बदलिएको र सबै विद्यार्थी समयमै आइपुग्ने बताइन् । आफूलाई प्रधानाध्यापक सुनिता छत्कुलीले कालिका माध्यमिक विद्यालय बुटवलसंगको समन्वयमा सांगितिक पीटीसहितको एसेम्ब्लीको तालिममा पठाएपछि विद्यालयमा एसेम्ब्लीदेखि नै बेग्लै रौनक हुने सुनाइन् । 

एसेम्ब्लीमा जुन माहौल बन्छ त्यसमा झुमेका विद्यार्थीको खुसीले दिनभरीका लागि पढाइको वातावरण बनेको देख्न सकिन्छ । कालिका मानव विज्ञानबाट प्रेरित पीटीले शारीरिक, मानसिक र मनोवैज्ञानिक रुपमा विद्यार्थीलाई बलियो बनाएको विद्यालयका शिक्षक वाइवाले बताइन् । 

युग सुहाउँदो सीप र सोंच सहितको युवा सक्रियताले विद्यालयको साख नै बदलिएको २६ वर्षदेखि पढाईरहेका र २२ वर्षदेखि सहायक प्रधानाध्यापक चलाईरहेका माध्यमिक तहका शिक्षक जनकराज पौड्याल बताउँछन् । ‘पहिला लेखापरीक्षण, सामाजिक परीक्षण, एसआइपी निर्माण होस् वा नगरपालिका शिक्षा समन्वय इकाइले मगाएका विवरणहरु सबैभन्दा ढिला बुझाउने हाम्रो विद्यालय अहिले सबैभन्दा अगाडि रिपोर्ट बुझाउनेदेखि अडिट गर्ने विद्यालय भएको छ । नियत नराम्रो नभएपनि हाम्रो पारदर्शितामा आफैं सन्तुष्ट नभएको हाम्रो परिचय सुनिताजीले जिम्मेवारी लिएसंगै बदलिएको छ, अहिले हाम्रोमा एकै दिनमा लेखापरीक्षकले आफ्नो काम सक्छन् जबकि पहिला दुई हप्तादेखि महिनौंसम्म लागेको उदाहरण छ’ शिक्षक पौड्याल हामीसामु खुले । 

460365675_122153985872265359_3641568248329393648_n-1727001890.jpg
जतिबेलै विद्यालयको काममा व्यस्त भेटिने प्रधानाध्यापक सुनिता छत्कुली कार्यकक्षमै विद्यालय सुधार योजना (एसआइपी) तयारीको सिलसिलामा भेटिइन् । विद्यालयका दस्तावेज व्यवस्थापन, पारदर्शिता, विद्यालयको शैक्षिक वातावरण लगायतका सुधारका सूची बनाएरै आफूले काम गरेकाले केही देखिने परिवर्तन भएकोमा आफूलालई गौरव लाग्ने छत्कुली बताउँछिन् । सुनिताले विद्यालयको गेटमै शिक्षक पालोपालो बसेर विद्यालय आउने वालवालिकाहरुलाई ह्याप्पी वेलकम गेट कल्चर सुरु गरिन् ।‘शैक्षिक गुणस्तर, इसीडीलाई वालमैत्री खेलमैत्री बनाउने काममा सीएसएन आएपछि चमत्कार नै भयो, यो काम सुनिता म्याम हेडटिचर भएपछि भएको धेरै उल्लेखनीय काम हो’ इसीडी सहजकर्ता उर्मिला केसीको अनुभव छ । ‘हामीलाई काम गर्ने हौसला, प्रेरणा अनि उत्साहको स्रोत बनेर सुनिता म्याम उभिएपछि हामीलाई अर्कै सजिलोपन महसुस भएको छ’ केसीले भनिन् ।  

विद्यालयको इसीडी लगायत व्यवस्थापनका धेरै पक्षहरुमा सुधार गर्न कोलावोरेटिभ स्कुल नेटवर्क (सीएसएन) संगको  सम्बन्धले अझ कायापलट नै गरेको छ । सीएसएनले उपलब्ध गराएका २ जना स्कुल  लिडर र २ जना  मनिटर सहित ४ जनाको टोलीलाई स्कुलले ४ जना थपेर ८ जनाको स्कुल लिडरसीप टीम बनाइएको र बेग्लै शैलीले विद्यालयलाई नमूना विद्यालयको रुपमा विकास गरिरहेको छ । 

school1-1727001186.jpg
वर्षमा तीन पटक घरघर गएर अभिभावकलाई विद्यालयको विषयमा सुझाव माग्दै वालवालिकाहरु विद्यालयमा ल्याउन गरिएका अनुरोधहरुले एकपछि अर्को जश पाएको अनुभव कक्षा २ की कक्षा शिक्षक सुलोचना पौडेलले सुनाइन् । वर्षमा तीन पटक त अभिभावकसंग वैठक बस्छौं, हरेक कक्षाका विद्यार्थीका अभिभावकसंग फेसबुक र भाइवर ग्रुप बनाएर विद्यार्थीको विषयमा जानकारी दिने होमवर्क र अरु सूचनाहरु शेयर गरेर प्रत्यक्ष अन्तरक्रिया गर्छौं अनि विद्यार्थीको गयल तालिका बनाएर दैनिक फोन फलो गर्छौं यसले गर्दा निजी विद्यालयभन्दा हाम्रो शैलीसंग अभिभावकहरु सन्तुष्ट छन् आफ्नो कामप्रतिको गौरव र सन्तुष्टिभाव झल्कने गरी प्रफुल्ल मुद्रामा शिक्षक पौडेलले सुनाइन् ।

eeb8467f-28d9-41fe-96e2-1e1e391ec4be-1727004654.jpg
स्नातक उत्तीर्ण हुनासाथ शिक्षण सेवामा प्रवेश भएपछि सुरुवाती पोष्टिङ नै ललितपुर पाएकी छत्कुलीले त्यतिबेलाको विद्यालयको अवस्थाले कैयौं दिन निकै अबेलासम्म निद नलाग्ने गरेको सम्झिन्छिन् । आफू प्रधानाध्यापकको जिम्मेवारी सम्हालेसंगै विगत सम्झँदै आफूले गरेका प्रयासहरु सुनाउँदै प्रधानाध्यापक छत्कुली भन्छिन् हरेक व्यक्तिसंग चीनजान हुनासाथ मैले विद्यालयका लागि के सहयोग सहकार्य गर्न सकिन्छ भन्ने कोणबाट सहयोगको याचना गरिरहेँ जसबाट आज यो अवस्था बनेको छ । 

साँच्चै विद्यालयमा प्रधानाध्यापक छत्कुलीको पहलकदमीबाट प्रदेश सरकारको सहयोगमा इसीडी देखि ६ कक्षासम्म स्मार्ट टीभी, ६ र ७ कक्षामा स्मार्ट बोर्ड, ८,९ र १० कक्षालाई प्रविधिमैत्री स्मार्ट बोर्डको व्यवस्था गरेपछि विद्यार्थीमा देखिएको खुसी सम्झँदा छत्कुलीका गह भरिए । ‘मार्कर बोर्ड विस्थापित गरेर पढाइ सुरु गरेपछि त शिक्षक उस्तै खुसी हुनुभयो । त्यसले शिक्षकमा उर्जा र विद्यार्थीमा उत्साह भरियो’ प्रधानाध्यापक छत्कुलीले सुनाइन् । काठमाडौं धादिङ र ललितपुरबाट परीक्षा दिएको पहिलो पटक नै एकै पटक तीन ठाउँबाट नाम निस्किएपछि माध्यमिक विद्यालय भएकाले ललितपुर छानेर सेवा सुरु गरेपनि सोचेजस्तो अवस्था नभएपछि केही सुधार गर्ने हुटहुटीले छत्कुलीलाई निदाउन दिएन । 

460725934_122154352298265359_7014697616457458207_n-1727001310.jpg
नियमित स्टाफ वैठक बस्न थालेपछि शिक्षकहरुले समाधानमुखी र सहभागितात्मक शैलीबाट विद्यालयभित्रका समस्या निराकरण गरिरहेका मावि शिक्षक पौड्याल बताउँछन् । उनी भन्छन् ‘सुनिताजीले प्रधानाध्यापकको रुपमा विद्यालय प्रशासन र शिक्षकहरुलाई मात्रै लिड गर्नुभएको छैन, व्यवस्थापन समितिलाई समेत घिच्याएर सक्रिय बनाउनुभएको छ । पहिला ऐन अनुसार व्यवस्थापन समितिको निर्णय चाहिने विषयमा बाहेक वैठक बस्ने र निर्णय गर्ने काम हुँदैनथ्यो भने अहिले हरेक विषय निर्णय गरेर अघि बढ्ने अभ्यासले व्यवस्थापन समिति स्वतः सक्रिय हुने अवस्था भएको छ ।’

संगैका साथीहरु अष्ट्रेलिया, अमेरिका र युरोप पुगिरहँदा सुनिता भने सामुदायिक विद्यालयको शिक्षा सुधार गर्दै अभिभावक र स्थानीयहरुसंग झन् राम्रो कसरी गर्न सकिन्छ भन्दै प्रश्नोत्तर गर्दै लामाटारका स्थानीयको घरघर घरदैलो गर्दै थिइन् । दाताहरु खोजेर जाडोमा सबै विद्यार्थीलाई न्यानो कपडा बाँड्ने र नियमित रुपमा लगाउने ड्रेस निशुल्क उपलब्ध गराउने काम त प्रधानाध्यापक भए लगत्तै सुरु गरिन् ।

विद्यालयका यी प्रयास र प्रयत्न सुनाउँदै विद्यालयको कम्पाउण्ड, खेल स्थल र खेल सामग्री, भौतिक पूर्वाधारहरु अवलोकन गराउँदै प्रधानाध्यापक छत्कुलीको साथ साथ अघि बढ्दै गर्दा विद्यार्थीहरुले हामीलाई नमस्कार गरिरहन्थे । विद्यार्थीलाई दिवा खाजाको समयमा एक एक मिलाएर इसीडी सहजकर्ता केसी खाजा खुवाउँदै थिइन् । छेवैमा पुगेका हामीलाई विद्यार्थीहरुले बडो मिजासिलो शैलीमा नमस्कार गरे । हामी नमस्कार फर्काउँदै अघि बढ्थ्यौं । शिक्षक, कर्मचारीहरु आफ्ना काममा उस्तै व्यस्त थिए । सुनिता आफू विद्यालयकोहेड टिचर भए पनि शैक्षिक परिणाम कक्षाकोठाबाट आउने भएकोले कक्षामा बेग्ला बेग्लै हेड टिचरहरुको व्यवस्था भएको सुनाउँदै र चिनाउँदै थिइन् । 

samman-1727001939.jpg
यहाँका शिक्षकहरु आजभोली दिनैपिच्छे केही न केही नयाँ पहिचान, पुरस्कार वा सकारात्मक चर्चाको विषय बनेकोमा दङ्ग छन् । कहिले नगरपालिकाका मेयर उपमेयर वा जनप्रतिनिधिले, कहिले शिक्षा निर्देशकले अनि कहिले सहयोगी संघसंस्थाले श्रृङ्गेरीको उदाहरण दिन थालेपछि प्रधानाध्यापक सुनिता छत्कुलीदेखि शिक्षकहरु कक्षाकोठामा मात्र नभै समाज र पेशामा पनि झन् उत्साहसाथ सक्रिय भएका छन् । उमेरले भर्खर तीन दशक पार गरेकी प्रधानाध्यापक छत्कुली आफूभन्दा दुई दशक पाको उमेर र दशक बढी अनुभव भएका अग्रज शिक्षकलाई रिझाएर नेतृत्व गरिरहेकी छन् ।

विभिन्न निकायबाट प्राप्त बजेट वा कार्यक्रम सोचेको भन्दा राम्रो गरेपछि सहयोग दिनेहरु पनि खुसी हुने र सहयोग थप्ने हुँदोरहेछ भन्ने अनुभव प्रधानाध्यापक सुनितासंग रहेछ । नगरपालिका, प्रदेश सरकार, अरु संघसंस्था दातृ निकायहरु थपिँदै जाँदा यसै वर्ष २ वटा दरबन्दी थपिएको छ भने स्मार्ट लाइब्रेरी र स्मार्ट ल्याबको व्यवस्था भएको भन्दै ल्यावको अवलोकन गराइन् । ल्यावमा केही सिर्जनात्मक सिकाइका लागि तल्लीन चम्किला उर्जापूर्ण आँखाहरुले हामीलाई लोभ्याए । विद्यार्थीका केही फोटा नखिचिरहन सकिएन ।

आइतबारको दिन, विद्यालयमा संगीतको माहौल हुँदोरहेछ । म्युजिक फर अल युएसएको सहयोगमा भर्चुअल म्युजिकल क्लासमा बसेका विद्यार्थीहरुले बेला बेला सांगितिक माहौल निर्माण गर्दा रहेछन् । सहयोगमा प्राप्त गरेको म्युजिक सामग्रीसहित विद्यार्थीका क्षमता र प्रतिभाले हामीलाई झन् पुलकित बनायो । 

वल्र्ड लिंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइ ल्याबसंग सहकार्य गरेर कमाउँदै सिक्दै कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरु जोडिएका छन् । विद्यार्थी जीवनबाटै आत्मनिर्भर बन्न सिकाउने उद्धेश्यको यो कार्यक्रम वालवालिकालाई जिन्दगी बुझाउने कार्यक्रम भएको एकजना विद्यार्थीले हाम्रै सामु बताए । आफ्नै विद्यालयका विद्यार्थीले बनाइदिएको झुम्का हुन् यी भन्दै प्रधानाध्यापक छत्कुलीले कानका झुम्का देखाउँदै गौरवबोध गरिन् । 

अनि अरु के के सीप सिकेका छन् त ? हाम्रो प्रश्नमा शिक्षकहरुले उत्साही हुँदै भने विद्यार्थीहरुले समुदायका पाका आमाहरुसँग कपासको वाती कात्न र दुना टपरी बनाउन पनि सिकेका रहेछन् । आमाहरुसँग बच्चाहरुले यस्तो सीप सिकिदिँदा आमाहरुको अनुहारमा देखिएको खुसी अनि उहाँहरुले दिएको आशिर्वादले यो काम  बच्चाको सौखका रुपमा भए पनि निरन्तरता होस् भन्ने लागेको छ प्रधानाध्यापक छत्कुलीले भनिन् । 

७० प्रतिशतभन्दा बढी स्थानीय विद्यार्थीहरु रहेको यस विद्यालयको सर्वांङ्गिण विकासले नगरपालिका लगायत नियामक निकायहरुलाई आकर्षित र सकारात्मक प्रभाव पारेको शिक्षकहरुको भावमा सहजै देखिन्थ्यो । यसै वर्ष नगरपालिकाको सहयोगबाट सभाहल निर्माण भएको रहेछ । विद्यालयमा वालवालिकाको सहयोगका लागि सम्मान फाउण्डेसनले २२ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको रहेछ । इको क्लव, वाल क्लव, रेडक्रस, स्काउट लगायतका संगठनात्मक सिकाइ अभ्यासहरुले विद्यार्थीहरुलाई संगठित भएर काम गर्ने, सेवाभाव र कर्तव्यबोध गराउने र नैतिकवान बनाउने काममा भएका प्रयासहरुले पनि विद्यालयको सुदूर भविष्य सुन्दर भएको देख्न सकिन्थ्यो । 

विद्यार्थीहरुले लामाटार एरिया नै सरसफाई गरेका रहेछन्, फेसबुक पेजमा अपलोड गरिएका तस्विरहरु स्क्रोल गर्दै प्रधानाध्यापक छत्कुलीले देखाइन् । विद्यार्थीहरुले गयल हुँदा फाइन लगाउँदै वालक्लवमा केही पैसा बचत गर्दारहेछन् अनि उनीहरुबिचको कोही साथी वा परिवारको सदस्य विरामी हुँदा सहयोग गर्दा रहेछन् अनि परिवारमा कसैको मृत्यु हुँदा सामूहिक रुपमा भेट्न जाने अनि किरिया सहायता समेत गर्दा रहेछन् । 

महालक्ष्मी नगरपालिकाका धेरै अतिरिक्त क्रियाकलापहरुमा श्रृङ्गेरीले केही न केही पुरस्कार जितिरहेको हुन्छ । बौद्धिक क्षमतामा होस् वा खेलकुद लगायतमा उनीहरुले विद्यार्थीको सर्वाङ्गिण विकासकै मोडलमा प्रगति गरिरहेका छन् नगरपालिकाका शिक्षा निर्देशक चिरञ्जिवी पौडेल बताउँछन् । ‘उनीहरुको काम गर्न सक्रियताको शैली र पारदर्शिताले गर्दा धेरै कार्यक्रमहरु दिएर राम्रो परिणाम आएको छ’ पौडेलले भने । 
1-1727002068.jpg
प्रायः हाइकिङ हिँड्ने रुटको विद्यालयमा भेटिएको लोभलाग्दो शैक्षिक प्रगतिले सामुदायिक विद्यालयका सुधारप्रति थप आशातित बनायो । शिक्षाकै कुरा गर्दैगर्दा एकदिन सन्दर्भ चल्यो महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले हरेक विद्यालयमा भएको सुधारको फेहरिस्त नै सुनाए । धेरै मेयरहरु भेटिँदा शिक्षामा व्यापक सुधार गरेका छौं भन्ने बाहेक मसिना कुरामा खुल्दैनथे तर मेयर श्रेष्ठले त इसीडीदेखि प्राविधिक शिक्षासम्मको सामुदायिक शिक्षा बदलिएको कथा सुनाए । सुनिताजस्तै प्रधानाध्यापकले विद्यालयमा सुधार गर्ने हो भने शैक्षिक हबको सपना पक्कै साकार हुनेछ । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update