Odapalika - The Fourth Estate - चौथो अंग
मुर्रा भैँसी ल्याउँदा ट्रोल बनेका मेयर अहिले दंग, बर्दिवास उत्पादनको हब बन्दै 

महोत्तरी । बर्दिवास नगरपालिकाका तत्कालीन मेयर विदुर कार्कीले तीन वर्षअघि भारतको हरियाणबाट मुर्रा जातको ११ राँगा लिएर आउँदा उनी ट्रोल बने ।  ‘तीन वर्षअगाडि निकै चर्को आलोचना खेप्नुपर्‍यो,’ ट्रोल बनेको अवस्था स्मरण गर्दै कार्कीले भने, ‘तर, म अडिग थिएँ कि यिनै राँगाबाट किसानको आर्थिक उपार्जनमा महत्त्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’ 

तत्कालीन समयमा उनले किसानको जीवनस्तर माथि उकास्न बनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले  धमाधम देखिन थालेपछि आलोचना गर्नेहरू नै हिजोआज प्रशंसा गर्न थालेका छन् । 

करिब ३३ लाख खर्चेर ल्याएका ११ राँगाबाट गर्भधारण गरेका  ५ हजार भैँसीले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानको गोठहरुमा बाक्लै देखिन थालेका छन् ।

राँगाको वीर्यवाट  कृतिम गर्भाधानभन्दा पनि अहिले किसानले भैँसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन् । ‘स्थानीय युवा किसान विवेक अधिकारीले भने, ‘दूध बढी उत्पादन हुने भएकाले अहिले अधिकांश  किसानको रोजाइ मुर्रा जातको भैंसी नै बनेको छ । मैले पनि नगरबाट ल्याएको एउटा राँगो पालेको छु । वार्षिक तीन सय भैंसी हाम्रै राँगोबाट गर्भाधान भएका छन् ।’ 

एउटा मुर्रा भैँसीले एक बेतमा दुई हजारदेखि तीन हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्त्वपूर्ण आधार बनेपछि नगर क्षेत्रमा कतिपय किसानले हरियाणा पुगेर यो जातको भैँसी ल्याएका छन् ।

पूर्व नगरप्रमुख कार्कीले त भारतवाट यही जातको भैँसी ल्याएर व्यावसायिक भैसीपालन गरेका छन् । उनको गोठमा अहिले १५ वटाभन्दा बढी भैँसी छन् । यिनै भैँसीबाट उत्पादन भएका पाडापाडीको कारण पनि नगर क्षेत्र मुर्रामय बन्दै गएको छ ।

एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजारभन्दा बढी भैंसी उत्पादन भइसकेका छन् । किसानलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगाबाट औसत रुपमा वार्षिक तीन हजार भैँसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खड्काले वताए । 

यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाण, पञ्जावजस्तै मुर्रा उत्पादनको हब बन्न सक्ने पशु चिकित्सकहरूको आंकलन छ ।

एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसबाट उत्पादन भएका राँगाको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भँैसीहरूको तुलनामा यो भैँसीप्रति आकर्षण बढ्दै गएको छ । 

‘मैले पनि एउटा मुर्रा भैँसी ल्याएको थिएँ । मेरो घरव्यवहार यसैवाट चलेको छ,’ निरोज अधिकारीले भने, ‘दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैँसीबाट मलाई परिवारको आधारभूत आवश्यकता परिपूर्ति गरेर केही पैसा बचाउने आधार समेत बनेको छ ।’  

तत्कालीन मेयर कार्कीले त्यति बेला बनाएका योजनाको अहिले परिणाम आएको देख्दा खुसी लागेको बताउदै अधिकारी  जनप्रतिनिधिले किसानको आधारभूत समस्या पहिचान गरेर योजना बनाउनुपर्ने बताउँछन् ।

तर, तत्कालीन मेयर कार्कीको मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानलाई उपलब्ध गराउने उनले योजना बनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगालाई नगरले नै संरक्षण गर्ने भनिए पनि व्यापक विरोध आएपछि उनले किसानलाई वितरण गरेका थिए ।

‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउंन सकिने र किसानलाई  नश्ल सुधार अभियानमा लगाउने योजना बनाएको थिएँ,’ तत्कालीन मेयर कार्कीले भने, ‘भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिँदै छ ।’

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update