Odapalika - The Fourth Estate - चौथो अंग
छवि पक्राउ, रवि उच्च निगरानीमा 

काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी तथा गोरखा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् । सहकारी ठगी सम्बन्धमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरिएको थियो । 

यसअघि समिति सभापति सूर्य थापाले प्रतिनिधिसभामा बैठकमा पेस गरेलगत्तै सभामुख देवराज घिमिरेले सरकारलाई कार्यान्वयनका लागि प्रतिवेदनमा पठाउन निर्देशन दिए । यसपछि मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए । 

उक्त निर्देशनलगत्तै आइतबार काठमाडौंबाट जोशी पक्राउ परेका हुन् । समितिको प्रतिवेदनमा जोशीसहित रास्वपा सभापति, पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका पूर्व सञ्चालक तथा प्रवन्ध निर्देशक रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरिएको छ । 

जोशी पक्राउ गरेको प्रहरीले अब रविलाई पक्राउ गर्ने तयारी गरेको छ । यसका लागि अपचलन भएका सहकारी रहेका स्थानमा प्रहरीलाई हाई अलर्ट रहन प्रहरी हेडक्वार्टरको निर्देशन रहेको छ । 

सोही प्रकरणमा गोर्खा मिडियाका सञ्चालक ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी)लाई पनि कारबाही गर्न सिफारिस गरिएको छ । राईले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा उनीहरुको संलग्नता देखाउँदै समितिले कारबाहीको सिफारिस गरेको हो । 
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update