
काठमाडौँ । सल्यानको कुमाख गाउँपालिकामा स्थानीय युवाहरुको एक समूहले गाउँपालिका कार्यालयमा आक्रमण गरेको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छविलाल खड्काका अनुसार स्थानीय युवराज खड्काको नेतृत्वमा आएका २५ जना भन्दा वढी युवाको समूहले कार्यालयमा प्रवेश गरी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकतलगायतको कार्यकक्षमा प्रवेश गरी तोडफोड गरेका छन् ।
उनीहरुले कर्मचारीलाई जर्वजस्ती बाहिर निकालेर मूल ढोकामा ताला लगाइदिएका छन् भने कर्मचारीमाथि अभद्र व्यवहार भएको अधिकृत खड्काले जानकारी दिए ।
आक्रमण र तालाबन्दीका बेला अध्यक्ष उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत भने कार्यालयमा नभएको कारण आक्रमण प्रयासबाट जोगिएको उनको भनाइ छ ।
सेवाप्रति असन्तुष्टि जनाउँदै स्थानीय एक युवाको अगुवाईमा आक्रमण र तोडफोड भएको भन्दै अधिकृत खड्काले विज्ञप्तिमार्फ कारवाहीको माग गरेका छन् ।
पालिकामा कार्यरत कर्मचारी र स्थानीय तहसँग सम्वन्धित विभिन्न पेशागत संघसंस्थाले पनि घटनाको निन्दा गरेका छन् ।