Odapalika - The Fourth Estate - चौथो अंग
जुम्लाका ५ स्थानीय तहका सबै नागरिक हस्ताक्षर गर्न र मोवाइल चलाउन जान्ने !

काठमाडौँँ । जुम्लाका ८ वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहलाई साक्षर पालिका घोषणा गरिएको छ । 

हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।

सिञ्जामा ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर बनेका छन् । जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा सङ्कलन गरिएको तथ्याङ्कले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिकालाई साक्षर घोषणा गरिएको छ उनको भनाइ छ ।

कस्तालाई भनिन्छ साक्षर ? 

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि साक्षर घोषणा गरिन्छ ।

हिमा गाउँपाकिलाका  १२ हजार ८०० जनसङ्ख्यामध्ये  १२ हजार २५६ जना अर्थात् ९६.५ प्रतिशत नागरिक साक्षर छन् । शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्याङ्क सङ्कलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको भनाइ छ ।

चन्दनाथ नगरपालिकामा २१ हजार ३६ जनसङ्ख्या मध्ये  ९८ दशमलव ९१  प्रतिशत नागरिक साक्षर भएको पालिकाको दाबी छ । 

१५ देखि ६० वर्षमुनिको जनसङ्ख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३८९ जना मात्रै भेटिएका थिए । ती व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखाले जनाएको छ ।

 पातारासीमा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर देखिएका छन् । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको पातारासीका उपाध्यक्ष जनमाया रोकायाको दाबी छ । 

कनकासुन्दरीका ९७ प्रतिशत नागरिक साक्षर रहेको गाउँपालिकाको दाबी छ ।  १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार यहाँका स्थानीय तह साक्षर घोषणा भएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update