Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्य मन्त्रीले गरे उच्च अधिकारीहरुको सरुवा र जिम्मेवारी हेरफेर, को–कहाँ पुगे ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रका उच्च अधिकारीको सरुवा र जिम्मेवारी हेरफेर गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले विभागदेखि अस्पताल प्रमुखको सरुवा र जिम्मेवारी हेरफेर गरेका हुन् ।

जसअनुसार सेवा विभागको महानिर्देशक डा. संगीता मिश्रालाई मन्त्रालय तानेर उनको स्थानमा डा. विकास देवकोटालाई ल्याइएको छ । मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा डा. भीम प्रसाद सापकोटालाई ल्याइएको छ ।

यसैगरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमाडा. अनुप बाँस्तोलालाई सरुवा गरिएको छ भने उपचारात्मक महाशाखाको जिम्मेवारी डा. सुधा देवकोटालाई दिइएको छ । 

विभागको व्यवस्थापन महाशाखा प्रमुखमा डा. पवनजंग रायमाझी, राष्ट्रिय ट्रमा सेन्टरमा डा. श्रवण थापा, स्वास्थ्य तालिम केन्द्रमा यशोदा अर्याल, सार्क टिबी रोग केन्द्रमा डा. अनुप भट्टचन र केन्द्रीय कारागार अस्पतालको निर्देशकमा डा. मनिषा रावललाई सरुवा गरिएको छ । 

कारागार अस्पतालमा निर्देशक रहेका डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याएर प्रवक्ताको जिम्मेवारी दिइएको छ । 

वीरगञ्जस्थित नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चुमनलाल दास, गुणस्तर मापन तथा नियमन महाशाखामा डा. सरोज शर्मा र डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ ।

कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. रूना झा, गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा. श्रीराम तिवारी र डडेल्धुरा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. नरेन्द्र खनाललाई पठाइएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update