Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षकको तलब भत्ता रोक्ने स्थानीय सरकारको चेतावनी, यस्तो छ कारण 

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शिक्षकको तलब भत्ता रोकिन सक्ने चेतावनी दिँदै विद्यालयलाई पत्र काटेको छ । आइतबार आफ्नो क्षेत्रभित्र रहेका १७ विद्यालयलाई पत्राचार गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले चेतावनी दिएको हो । 

हालसम्म माग फाराम दर्ता हुन नआएको तथा दर्ता हुन आएका माग फारामहरुमा पनि आवश्यक कागजातहरु नपुगेकाले निकासामा बाधा पुगिरहेको भन्दै स्थानीय सरकारले उक्त विद्यालयहरुलाई यही असोज ८ गते बुधबारभित्र माग फारामलगायत आवश्यक अपुग कागजातहरु संलग्न गरी गाउँपालिकाको कार्यालयमा पेस गर्न समयावधि दिएको हो । अन्यथा प्रथम त्रैमासिक तलब भत्ता लगायतका अन्य निकासा रोक्का हुने र यसको सम्पूर्ण जवाफदेहिता प्रध्यानाध्यापक हुनुपर्ने शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

माग फारम पेस नभएका विद्यालयहरुमा सरस्वती मावि डाँडाखर्क, राम्चे निकेतन मावि इजारा, शान्ति निकेतन मिनाकर्ण मावि, पंचकौशिका मावि भण्डारेघाट, महेन्द्रोदय मावि याम्खा, जनप्रभात आवि नाप्तिकु, रोशा भन्ज्याङ आवि पन्चमी र चित्र निकेतन आवि रिभु टेम्पा रहेका छन् । 

माग फारम पेस भएका तर कागजात अपुग भएका विद्यालयहरुमा महेन्द्रोदय मावि ओख्र, जनविकास मावि नाराङ्गा, पिचाकु आवि बतासे, शान्ति मावि छोरम्बु, कालिका आवि टेम्पा, जनता मावि बतासे, जनचेतना आवि सर्वेटार, पन्चकन्या आवि वातिखुम र जनसेवा मावि दिहुँ रहेका छन् । 

उक्त विद्यालयहरुलाई स्थानीय सरकारले आइतबार लेखेको पत्र :

प्रस्तुत विषयमा शैक्षिक पात्रो २०८१ मा उल्लेख भएको मिति तथा व्यहोरा सवैलाई अवगत नै होला तर हालसम्म पनि यस गा.पा. अन्तर्गतका तपसिलका विद्यालयहरुको माग फाराम दर्ता हुन नआएको साथै दर्ता हुन आएका माग फारामहरुमा पनि आवश्यक कागजातहरु नपुगेकाले निकासामा बाधा पुगिरहेको हुँदा सम्बन्धित विद्यालयहरुलाई आजको मितिले २ (दुई) दिन भित्र अर्थात मिति २०८१/०६/०८ गते कार्यालय समयसम्म माग फाराम लगाएत आवश्यक अपुग कागजातहरु संलग्न गरि यथासिघ्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गराइन्छ ।

अन्यथा प्रथम त्रैमासिक तलब भत्ता लगाएतका अन्य निकासा रोक्का हुन गएमा त्यसको सम्पुर्ण जवाफदेहिता प्र.अ.स्वयम् हुनु पर्ने व्यहोरा समेत यसै साथ जानकारी गराइन्छ।

School-LTR-1727087587.jpg
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update