Odapalika - The Fourth Estate - चौथो अंग
गर्मीले ८ छात्रा बेहोस भएपछि स्थानीय सरकारको निर्देशन– अब बिहानी कक्षा चलाउनू

पर्सा । केही दिनयता बढेको गर्मीको असर विद्यार्थीमा देखिएको छ । मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा केही दिनयता गर्मी अत्याधिक बढेको छ । 

अत्याधिक बढेको गर्मीका कारण विद्यार्थी बिरामी पर्न थालेका  छन् । अध्याधिक गर्मीका कारण पर्साको पोखरिया नगरपालिकास्थित उच्चांगल माविका विद्यार्थी बेहोस भएका छन् । सोमबार सो विद्यालयका आठ छात्रा बेहोस भएको पोखरिया नगरपालिकाका मेयर प्रदुमनप्रसाद चौहानले वडापालिकालाई जानकारी दिए । ‘केही दिनयता बढेको प्रचण्ड गर्मीले आज उच्चांगल माविका आठ छात्रा बेहोस भएका छन्,’ उनले भने । 

बेहोस  भएका छात्रालाई तत्काल पोखरियास्थित प्रादेशिक अस्पतालमा उपचार गराएको र अहिले उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मेयर चौहानले जानकारी दिए । ‘उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘ती छात्राहरु उपचारपछि सामान्य अवस्था भएसँगै डिस्चार्ज भएर घर फर्किएका छन् ।’ 

१२ कक्षासम्म पढाइ हुने उच्चांगल माविमा ३५ सय विद्यार्थी अध्ययनरत रहेका मेयर चौहानले जानकारी दिए । 

बिहानी सत्रमा कक्षा चलाउन निर्देशन 

पर्सासहित मधेश प्रदेशका सबै विद्यालयमा अहिले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पठनपाठन हुँदै आएको छ । तर, विद्यार्थी बेहोस भएपछि पोखरिया नगरपालिकाले भने मंगलबारदेखि बिहानी सत्रमा कक्षा सुरु गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । ‘गर्मीले विद्यार्थी बिरामी हुन थाले । यसपछि आजै सबै विद्यालयलाई मोर्निङ क्लास गराउन निर्देशन दिइएको छ,’ मेयर चौहानले वडापालिकालाई भने । 

पर्सा, बारा, रौतहटलगायत मधेश प्रदेशका केही स्थानीय तहले गर्मी बढेसँगै बिहानी सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update