काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिकाले विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न थालेको हो ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिला स्वास्थ्य स्वयंसेविकाका साथै विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्वुजाले जानकारी गराए । पालिकाले विपन्न नागरिकका लागि ३० लाख र महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमाका लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस वर्ष गाउँपालिकाले ९०० परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रमबाट ४ हजार ५०० जना लाभान्वित हुने पालिकाले जनाएको छ । वडा कार्यालयबाट अहिले विपन्न नागरिकको विवरण सङ्कलन भइरहेको छ ।
वडा कार्यालयमा प्राप्त हुन आउने निवेदनमा गाउँ कार्यपालिकाको बैठकबाट छनोट गरेर एक वर्षको लगानीमा स्वास्थ्य बीमा गरिने गाउँपालिकाले जनाएको छ । ५ जनाको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि एक वर्षसम्मलाई १ लाख रुपैयाँबराबरको उपचार सेवा पाउनेछन् ।