Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धार्थनगरका मेयर दक्षिण कोरिया र उपमेयर चीन भ्रमणमा, कार्यवाहकमा विवाद

रूपन्देही । सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा जाँदा दिइएको कार्यवाहकप्रति वडाध्यक्षहरु असन्तुष्ट बनेका छन् । 

आइतबार उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् भने सोमबार मेयर इस्तियाक अहमद खाँ दक्षिण कोरियाको भ्रमणमा गएका छन् । मेयर खाँ र उपमेयर अधिकारीको विदेश भ्रमणमा गएको सो नगरपालिकाका प्रवक्ता तथा ४ नम्बर वडाध्यक्ष मुक्तिनाथ यादवले जानकारी दिए ।

‘मेयर र उपमेयर विदेश भ्रमणमा जानु भएको अनौपचारिक जानकारी छ । तर, मलाई औपचारिक रुपमा कुनै जानकारी छैन,’ उनले वडापालिकासँग भने, ‘उहाँहरु के कामका लागि कुन देश जानु भएको हो । मलाई औपचारिक जानकारी छैन ।’ 

कांग्रेसबाट निर्वाचित मेयर खाँ दक्षिण कोरिया र एमालेबाट निर्वाचित उपमेयर अधिकारी चीन भ्रमणमा गएका हुन् । उनीहरु कहिले फर्कने हुन् भन्ने पनि जानकारी नरहेको प्रवक्ता यादवले बताए । 

नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् । तर, कार्यवाहक मेयरबारे आफूलाई केही जानकारी नभएको प्रवक्ता मुक्तिनाथ (भोला) यादवले बताए ।

मेयर र उपमेयर विदेश भ्रमण गएकाबारे सामाजिक सञ्जाल र केही व्यक्तिमार्फत जानकारी पाएको भन्दै उनले प्रवक्तालाई समेत जानकारी नगराइ विदेश भ्रमणमा गएकोप्रति अन्तुष्टि जनाए ।

कार्यवाहकप्रति वडाध्यक्ष असन्तुष्ट

कांग्रेसबाट निर्वाचित मेयर खाँले आफू दक्षिण कोरिया भ्रमणमा जाँदा कांग्रेसबाटै निर्वाचित १३ नम्बर वडाका वडाध्यक्ष सोमबहादुर गुरुङलाई दिएका छन् । तर, आफू नगरपालिकाको प्रवक्ता र वडाध्यक्ष भएकाले आफूलाई कार्यवाहकको जिम्मेवारी पाउनुपर्ने प्रवक्ता यादवको गुनासो छ । ‘मेयरज्यूले पदीय मर्यादाअनुसार मलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्थ्यो,’ उनले भने, ‘तर, मलाई नदिइ सोमबहादुर गुरुङलाई दिनुभयो ।’

प्रवक्ता यादव राप्रपाबाट निर्वाचित वडाध्यक्ष हुन् । पदीय मर्यादाअनुसार आफूलाई कार्यवाहक पाउनुपर्छ भन्दा विवाद गरेको बुझ्न नहुने उनको भनाइ छ । ‘मैले मर्यादाअनुसार मलाई कार्यवाहक दिएको भए हुन्थ्यो भनेको हो । तर, यसलाई विवाद गरेको भन्नु उचित होइन,’ प्रवक्ता यादवले भने । 

बिनाअवरोध प्रशासनिक कार्य

मेयर खाँ र उपमेयर अधिकारी विदेश भ्रमणमा गए पनि दैनिक प्रशासनिक कार्यमा कुनै अवरोध नरहेको प्रवक्ता यादवले वडापालिकालाई जानकारी दिए । ‘मेयर र उपमेयर विदेश भ्रमणमा गए पनि यहाँ दैनिक प्रशासनिक कार्य बिनाअवरोध  भइरहेको छ,’ उनले भने, ‘उहाँहरुको विदेश भ्रमणले नागरिकको सेवालाई असर गर्दैन ।’

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update