Odapalika - The Fourth Estate - चौथो अंग
हेड सर सरुवाको विरोधमा नगरपालिकाको कार्यालय र एम्बुलेन्समा तोडफोड 

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयमा तोडफोड भएको छ । प्रधानाध्याक सरुवाको विषयलाई लिएर मंगलबार नगरपालिकाको कार्यालयमा तोडफोड भएको मेयर प्रेमलाल साह कानुले जानकारी दिए । 

देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित श्रीजयकिसान माविका प्रधानाध्यापक सञ्जयप्रसाद गुप्ताको सरुवाको विषयलाई लिएर तोडफोड भएको हो । मेयर साहले आफूखुसी प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाउँदै मंगलबार आक्रोशित समूहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । 

विद्यार्थी, स्थानीयसहितको समूहले गरेको ढुंगा प्रहारबाट कार्यालयको झ्यालको सिसा र केही सवारी साधनमा क्षति पुगेको छ । तर, आफूले नियमसंगत प्रधानाध्यापक गुप्ताको सरुवा गरेको दाबी गरेका मेयर साहले विद्यार्थीलाई अघि सारेर कार्यालयमा तोडफोड भएको बताए । प्रधानाध्यापकको अमर्यादित गतिविधिबारे बारम्बार गुनासो आएपछि आफूले सरुवा गरिदिएको र अहिले उनै प्रधानाध्यापक गुप्ताले मान्छे ल्याएर कार्यालयमा तोडफोड गरेको आरोप लगाए । 

‘हेड सर सञ्जय गुप्ताको अमर्यादित गतिविधिबारे बारम्बार गुनासो आयो । विद्यालय, विद्यार्थी र स्थानीयबाट गुनासो आएपछि सरुवा गरेको हुँ,’ मेयर साहले भने, ‘तर, हेड सर पनि यहीँ ९ नम्बर वडावासी हुन् । उनले आफ्ना मान्छे ल्याएर, विद्यार्थीलाई अघि सारेर कार्यालयमा तोडफोड गरेका हुन् ।’ उनका अनुसार उनीहरुको आक्रमणबाट एम्बुलेन्स र स्काभेटरमा समेत क्षति पुगेको छ । 

आफूलाई सरुवा गरेको विरोधमा जनप्रतिनिधिलाई समेत प्रयोग गरेर तोडफोड गरिएको उनको आरोप छ । ‘तोडफोडमा ९ नम्बर वडाका वडाध्यक्ष वीरबहादुर साहसहित सञ्जयप्रसाद साह, राजेश तेलीलगायतको समूहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेको हुन्,’ उनले भने, ‘विद्यार्थी त ८/१० जनामात्रै थिए । अरु सबै प्रधानाध्यापककै मान्छे हुन् ।’ 

नगर कार्यालयमा तोफोड भएसँगै थप स्थिति भड्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update