Odapalika - The Fourth Estate - चौथो अंग
डेङ्गीको शंका छ ? काठमाडौँ महानगरको हटलाइन ११८० मा फोन गर्नुस् 

काठमाडौँ । डेङ्गी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । 

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँको अध्यक्षतामा साझेदार अधिकारीहरुसँग बसेको बैठकले व्यक्तिको घरमाभन्दा सार्वजनिक निकायका भवन कम्पाउण्ड बढी जोखिममा रहेको बताउँदै तालिकावद्ध सफाइको संस्कृति चलाउन मातहतका निकायलाई आग्रह गरेका छन् ।

कम्तीमा ४ हप्ता डेङ्गी नियन्त्रणका कार्यक्रममा थप सक्रिय हुनु पर्ने, डेङ्गीबाट बच्न हरेक व्यक्ति सचेत र सावधान हुनुपर्ने निष्कर्ष महानगरको छ  ।  

बैठकमा डेङ्गी संक्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले पानी जम्ने सडक, सडक पेटीका खाल्टाखुल्टी, करेसाबारीमा रहने गमला, पानी जम्मा गरी राखिएका भाँडा, टायर, कौसी र बरण्डामा जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखि नरहन सचेतनामूलक कार्यक्रम सञ्चालन हुने बताए ।

महामारी रोग नियन्त्रणका लागि महानगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएको जनाउँदै प्रशासन विभागका प्रमुख नमराज ढकालले पानी जम्न नदिनु नै सम्भावित जोखिम घटाउने उपाय भएकोले यसमा व्यक्ति व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।

सार्वजनिक निकायले कार्यक्रमको नेतृत्व गर्ने र सर्वसाधारणले यो कार्यक्रम आफ्नै सुरक्षाका लागि हो भनेर ग्रहण गर्ने वातावरण सिर्जना गर्नमा स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवालले जोड दिए ।

सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका स्वास्थ्यकर्मीहरु, वडा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संघ संस्था र क्लबका प्रतिनिधि, नगर प्रहरी, कर्मचारीलाई लार्भा नष्ट गर्ने अभियानमा सहभागी गराउने योजना बनाएको छ । 

बर्षायाममा साउन, भाद्र, असोज र कात्र्तिक महिनासम्म यस रोगको संक्रमण दर तीब्र हुने गरेको विगत अभ्यासले देखाउँछ । यस अवधिमा महानगरले, डेङ्गी रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) ११८० हटलाइनमार्फत २४सै घण्टा सञ्चालनमा ल्याइएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिन्छ । 

डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जललगायत आवश्यक औषधिको स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराइएको छ । 

एडिस जातको संक्रमित लामखुट्टेले पारेको अण्डाबाट लार्भा हुँदै निस्क्ने लामखुट्टे वयस्क भएपछि यसले मानिसलाई टोकेमा डेङ्गी रोग लाग्छ । सामान्यतया संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिन भित्र कडा ज्वरो आउने, वाक–वाकी लाग्ने, निकै कमजोर महसुस हुने, खान मन नलाग्ने, जिउ दुख्ने जस्ता लक्षण देखिन सक्छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update