Odapalika - The Fourth Estate - चौथो अंग
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता 

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो । यही असोज ७ गते बेलुका ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि असोज १२ गतेसम्म मनसुन सक्रिय हुँदा भारी वर्षा हुने अनुमानसहितको सूचना दियो । 

भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो । यसप्रति जिम्मेवार बन्दै स्थानीय सरकारले किसानलाई सचेत गराउँदै पोकेको धान भित्र्याउन भनिरहेको छ । स्थानीय सरकारले वडा वडामा आफ्नै प्रहरी पठाएर र सार्वजनिक सूचना निकालेर किसानलाई काटेको धान भित्र्याउन र नकाटेको भए अहिले नकाट्न भनिरहेका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर प्रहरीलाई खटाएर वडा–वडा माइकिङ गर्दै काटेको धान उठाउन र नकाटेको भए अहिले नकाट्न भनेको छ । 

यसैगरी, दाङको गढवा गाउँपालिकाले पनि सार्वजनिक सूचना निकालेर किसानलाई सचेत गराएको छ । उसले काटिसकेको धानबाली भित्राउन र काट्न बाँकी भएको भए तत्काल नकाट्न भन्दै किसानलाई सचेत गराएको छ । 

‘नेपाल सरकार मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागको जारी मिति २०८१।०६।०७ गतेको प्रकाशित सुचना अनुसार आगामी मिति २०७१।०६।१० गते देखि २०८१।०६।१२ गते सम्मका लागी मनसुनी वर्षाको कारणले मौसममा बदलाब आई मेघ गर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । सो वर्षाले विशेषतः कृषि क्षेत्रमा प्रभाव पार्न देखिएकाले यस गढवा गाउँपालिकाका सम्पूर्ण कृषकलाई माथि उल्लेखित मितिसम्म धान नकाट्न हुन यसै सुचना मार्फत जानकारी गराईन्छ । साथै काटिसकेको धानबाली भए खेतमा नछोडी सुरक्षित ठाउँमा राख्नु हुन अनुरोध छ,’ सार्वजनिक सूचनामा उल्लेख छ । 

Notice-Gadhawa--1727244348.jpg
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update