Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीयलाई गाउँ फर्काउन स्थानीय सरकारको १० लाख अफर

काठमाडौँ । पर्वतको महाशिला गाउँपालिकाले आफ्ना नागरिकलाई गाउँ फर्काउने नीति लिँदै सुविधाको व्यवस्था गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत आफ्ना नागरिक फर्काउने र उत्पादनमूलक व्यवसाय गर्नेलाई स्थानीय तहले ब्याज तिरिदिने गरी ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ । 

‘घर फर्क प्याराप्यारी’ कार्यक्रमअनुसार विदेश तथा बजारवाट फर्केका र अन्य युवाले उत्पादनमूलक व्यवसाय गर्न चाहेमा बैकसँग समन्वय गरी १० लाखसम्मको ऋणको ब्याज २ वर्षसम्म तिरिदिने नीति तथा कार्यक्रममा उल्लेख छ । उक्त व्यवसायलाई सफल बनाउन आवश्यक तालिम र नियमित प्राविधिक सेवा निःशुल्क उपलब्ध गराइनेछ ।

महाशिलाबाट बसाइँसराइ गरी गएका पुनः बसाइँसरी आएमा स्थानीय सरकारले उनीहरुलाई घर पुनर्निर्माणका लागि एक लाख रुपैयाँ र ६ महिनासम्म खान पुग्ने गरीप्रति परिवार सदस्य २ हजार मासिक खाद्यान्न अनुदान दिने जनाएको छ । 

‘महाशिलामा जग्गा जमिन छाडी बसाइँसरी गएका परीवार पुनः बसाइँसरी आफ्नो जग्गामा खेती गर्ने गरी फर्की आएमा घर भत्किएको भए घर निर्माणको लागि १ लाख रुपैयाँ र सो परिवारलाई ६ महिनासम्म खान पुग्ने गरीप्रति परिवार सदस्य रु २००० मासिक खाद्यान्न अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

सो कार्यक्रम कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको महाशिला गाउँपालिकाले जनाएको छ । ‘विदेशमा रहेका र सहरमा रहेका युवाहरुलाई गाउँ फर्की उद्यमी बन्नको निम्ति गाउँमा उद्यम घरमै रोजगारी ‘घर फर्क प्याराप्यारी’ अभियान र बसाइँ फर्क अभियान व्यावसायमा ब्याज अनुदानको लागि आवश्यक रकम विनियोजन गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । 
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update