Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ वडा नम्बर १६ बन्यो वडास्तरीय फुटसलको विजेता 

काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गरेका थिए ।

वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नं. १६ को ५ गोल भएको हो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गरेका थिए । उपाधिसँगै विजेता टोली वडा नं. १६ ले दुईलाख रुपैयाँ प्राप्त गर्‍याे ।उपविजेता वडा नं. १२ ले एक लाख रुपैंयाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।

यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बने । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) खेल मैदानमा गएका थिए ।

खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गरेका थिए । 

२०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टीमले भाग लिएको थियो । नकआउटका आधारमा भएको खेल हरेक दिन बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो । 

दोस्रो खेलमा वडा नं.९ ले वडा नं. २७ लाई २–० गोल अन्तरले पराजित गर्‍यो । वडा नंं ९ का लागि दुवै गोल मिङ्मा लामा तामाङ्ले गरेका थिए । यसमा मिङ्मा नै म्यान अफ द म्याच घोषित भए । 

तेस्रो खेल वडा नं. ६ र ११ का बीचमा भएको थियो । यस खेलमा वडा नंं ६ ले ११ लाई ३—२ गोल अन्तरले पराजित गर्‍याे । वडा नं. ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले १/१ गोल गरेका थिए । वडा नं. ११ का लागि जनक कोइराला र रितेश महतोले गोल गरेका थिए । खेलमा वडा नं. ६ का केशव म्यान अफ द म्याच घोषित भए । 

खेल शुभारम्भ गर्दै उपप्रमुख सुनिता डंगोलले स्वास्थ्य र सकारात्मक सोचका लागि खेलको ठूलो भूमिका रहेको उल्लेख गरिन ।  ‘खेल जस्तै अनुशासन र स्वच्छ प्रतिस्पर्धा अन्य पेशाका लागि उदाहरण हो ।’ डंगोलले भनिन्, ‘फुटसल संस्कृतिले युवाहरुलाई गलत काममा लाग्नबाट बचाएको छ ।’

प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वस्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताए । शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताए । प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update