Odapalika - The Fourth Estate - चौथो अंग
पाटन, पर्यटन र सम्पदाको साइनो
फाइल तस्विर

पाटनको पहिचान 

रातो रंगमा चम्किला इटा छापेको बाटो होस् वा होचा ढोकाबाट पस्दै निस्कँदै गर्ने चोक र बहालका कुनाहरु हुन् घुम्दै फिर्दै पाटन पसेपछि पर्यटको चहलपहलले पाटनलाई अर्कै पहिचान दिएको अनुभव गर्न सकिन्छ । सन् १०२४ देखि १०४० सम्म लक्ष्मीकामदेवले शासन गरेको मानिने पाटनमा बि.सं. १६७५ तिर भने सिद्धिनरसिंह मल्लले शासन गरेको तथ्यहरु धेरै ऐतिहासिक तथा पुरातात्विक अभिलेखहरुमा पाइन्छ । युपग्राम, यल, ललितापुरी, ललितपतन, मनिङ्गल आदि नामले चिनिएको पाटनलाई चिनाउने मूर्त तथा अमूर्त सम्पदाहरु नै पाटनसँग पर्यटनलाई जोडिरहने सुत्र हुन् । 

पुस्तौंदेखि चलिआएका जात्रा तथा पर्वहरु, संस्कृति तथा ऐतिहासिक किम्वदन्तीहरुको अमूर्त योगदान त वर्णन गरिसाध्य छैन नै यद्यपि सत्रौं सताब्दितिरदेखिका मूर्त सम्पदाहरुलाई मात्रै व्यवस्थित गर्दै संरक्षण, प्रवद्र्धन र सम्वद्र्धन गर्न सक्दा पाटनलाई केन्द्र मानेर प्रवद्र्धन गर्न सकिने सम्पदा तथा सांस्कृतिक पक्ष यहाँको दिगो पर्यटनको आधार बन्ने निश्चित छ । सिद्धिनरसिंह मल्लले शासन गरेको पाटन दरवार वि.सं. १६९३ मा मूल दरवारको पश्चिमपट्टि निर्माण गरिएको २१ गजुर भएको श्रीकृष्णको मन्दिर र बि.सं. १७५८ मा योगनरेन्द्र मल्लले निर्माण गराएको मणिमण्डपले यहाँको मानवनिर्मित कला र वास्तुको पहिचान चिनाएको छ । वास्तु र कलाले जिवन्त रुपमा अनि जात्रा, पर्व, संस्कृति, रिवाज आदिले अमूर्त रुपमा पाटनको सम्पदाको प्रतिष्ठा बढाएका छन् । 

केशवनारायणचोक, मूलचोक र सुन्दरीचोकको महत्व सार्वजनिक सभा समारोह, विपत बन्दोवस्त एवम् सार्वजनिक सामुदायिक कार्यक्रमहरुले दर्शाइरहेका छन् । सन् १९७९ मा संयुक्त राष्ट्रसंघले मानव सभ्यताको विकासक्रमका जिवन्त साक्षीको रुपमा रहेका यस्तै थुप्रै सम्पदाहरुलाई विश्वको ध्यान आकृष्ट गर्ने गरी सम्वोधन गरेको थियो ।

heritage-1727421067.jpg
त्यही क्रममा १६ औं देखि १८ औं सताव्दिसम्म निर्माण भएका पाटन दरवार क्वायर परिसरकार मठ, मन्दिर, कलाकृति, कौशल, शिल्प र संरचनाहरुलाई विश्व सम्पदा सूचीमा उल्लेख गरी संरक्षण गर्ने संकल्प गरियो । केही राजाहरुको शौख, सान र सौकातका विषयले आज विश्वको ध्यान तान्ने गरी पर्यटकीय पहिचान निर्माण गरी राष्ट्रकै समृद्धिको स्रोत भएका छन् । 

सम्पदा र समृद्धि 

पाटनको प्रतिष्ठा मात्रै नभएर देशकै गौरव अनि विश्वको चासो भएको यो क्षेत्र पर्यटनमार्फत समृद्धिको एउटा बलियो खम्बा भएको छ । पाटनमा पर्यटनको चहलपहल बढाउने यो सम्पदा क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरुको प्रवेश अनुमति, दरवार स्क्वायर प्रवेश पासको शुल्क, पर्यटक आगमनले हुने मुख्य गतिविधि खाना, आवास तथा अतिथि सत्कारजन्य व्यवसाय, पर्यटक उपहार तथा विभिन्न कलामा आधारित व्यवसायमार्फत उल्लेख्य आर्थिक गतिविधि हुने गरेको छ ।

पाटनको पर्यटनलाई लक्षित गरेर सैयौंको संख्यामा साना तथा ठूला होटल रिसोर्टहरु खुलेका छन् । हजारौं बेड क्षमतामा ब्रेड एण्ड ब्रेकफाष्ट सुविधाका पर्यटक आवास उद्यमहरु सञ्चालन भईरहेका छन् । पर्यटक गाइड, कफीसप, रेष्टुरेण्ट, मनि चेञ्जर लगायतका उद्यमहरु पनि बढिरहेका छन् । हजारौं स्वरोजगार उद्यमी तथा रोजगारी सिर्जना गरिरहेको पाटनको पर्यटन अर्थतन्त्र दिगो आर्थिक विकासको बलियो खम्बा सावित भएको छ । 

सम्पदा घर(हेरिटेज होम) र साँस्कृतिक घरबास (कल्चरल होमस्टे) 

पाटनको समृद्धिमा योगदान गरिरहेको पर्यटन मसिनो हिसावले यहाँको कला, संस्कृति, संरचना, शिल्प सहित दिगो आर्थिक विकासको आधारमा बढ्न खोजिरहेको छ । दुई दशक अघिसम्म पाटन दरवार स्क्वायर घुम्न आउने पर्यटन साँझ बास बस्न ठमेल पुग्ने गर्थे । तर अहिले राती अबेलासम्म पनि मंगलबजार, सुन्धारा, गावहाल, पिम्बहाल, कुम्भेश्वर, स्वठः क्षेत्रमा बाक्लै चहलपहल गरिरहेका भेटिन्छन् । अहिले उनीहरुलाई पर्यटनमैत्री बासका लागि फर्कनुपर्ने कुनै हतारो छैन । दरवार स्क्वायर बाहेक अन्य क्षेत्र साँझ अबेरसम्म पनि घुम्न सकिने, खाना तथा सुविधाजनक बास बस्न सकिने अवस्थामा छ । २०७२ को भूकम्पले ध्वस्त भएको दरवारस्क्वायर परिसरका मठमन्दिर सत्तल, बहाल, बहिहरुको पुननिर्माण पछिको पर्यटकीय चहलपहल दिउँसो र साँझ लोभलाग्दो छ । 

cosy-1727420989.jpg
सम्पदा क्षेत्रमा भएका परम्परागत सम्पदा तथा संस्कृतिहरु झल्कने संरचनाहरुलाई यथावत संरक्षण गर्ने वा जिर्णोद्धार पुननिर्माण गर्दै संरक्षण गरी त्यसलाई समेत प्रवद्र्धन गर्ने गरी सञ्चालन गरिने हस्पिटालिटी व्यवसायलाई सम्पदाघर वा साँस्कृतिक घरबास भनिने सम्पदा संरक्षण तथा पर्यटन व्यवसायमा सम्बद्ध व्यवसायीहरुको मत छ । पाटनमा आएका पर्यटकहरु सुरक्षित बासका लागि भन्दै फर्कनुपर्ने अवस्था देखेपछि पारिवारिक वातावरणमा, शान्त, सुरक्षित र हाइजेनिक स्वाद र सन्तुष्टि सहितको सेवा दिनुपर्छ भनेर हेरिटेज होमको अवधारणा लिएर झण्डै साँढे दुई दशक अघि सुरु भएको यता छेँ हेरिटेज होमको डिजाइनिङ, फुड हाइजिन, कल्चरल कोअर्डिनेसन सम्म पनि गरिरहेको छ ।

सिद्धिनरसिंहका माइला छोराको निवास परिसर मूल दरबारबाट पश्चिमतिरको घर भएका कारण एउता छेँ भनिएको रहेछ । नेवारीमा एउता भनेको पश्चिमतिरको हो । यही एउता छेँमा फ्रेञ्च नागरिक केमिली हेनेसको सहकार्यपछि कोजी नेपालको रुपमा देश र विदेशमा पर्यटक तानिरहेको छ । 

सिंगापुरमा हस्पिटालिटी नै अध्ययन गरेर सिंगापुर र जापानमा व्यावसायिक अनुभव संगालेका समुन बज्राचार्यले पनि दरवार स्क्वायर नजिकै स्वठः ट्रेडिसनल होमको नाममा हेरिटेज होम सञ्चालन गरिरहेका छन् । करिब १५ वर्ष अघिबाट सुरु भएको सय वर्ष पुरानो घरमा रहेको हेरिटेज होमले वास्तविक संस्कृति र सम्पदाको चित्र बोकिरहेको देख्न सकिन्छ । सय भन्दा बढी वर्ष पुराना काठका निदाल, दलिन भएको काठकै भ¥याङ तथा कोठा बनाइएको यो हेरिटेज होम प्राकृतिक रुपमै वातानुकुलित छ । माटो, इँटा र काठबाट बनेको घर, परम्परागत सामग्री, खाट दराज तथा कुर्सीहरु र प्राचीन जीवनशैलीमा लोभिने पर्यटकहरुका सन्तुष्टिले दिगो पर्यटनलाई सुनिश्चित गर्ने बज्राचार्यको अनुभव छ । 

सांस्कृतिक र धार्मिक महत्व बोकेर विश्व सम्पदासूचीमा सूचिकृत सम्पदाका धरोहर दरवार स्क्वायर र कुम्भेश्वरको सडकको छेवैमा तीन सय वर्ष पुरानो इतिहासको साक्षी छ नेवाः छेँ । स्वठः सडकको नेवाः छेँ ले बोकेको नेवार सभ्यता र संस्कृतिको इतिहास अनि कला र शील्पलाई समृद्धिको माध्यम बनाएका हुन् देबेन्द्र श्रेष्ठले । लामो समय आफैंले नेतृत्व गरेको यो हेरिटेज होमलाई स्वीस टीमलाई व्यवस्थापन जिम्मा लगाएर विदेशी पर्यटक आगमनको भरपर्दो बाटो बनाएका छन् । पाटनको पर्यटनलाई समृद्धिमा उतार्ने यी हेरिटेज होम बाहेक अरु धेरै हेरिटेज होमहरु पाटन दरवार स्क्वायरको डेढ दुई सय मिटरको दुरीमा छन् । 

पाटन आएका पर्यटकहरुले पदयात्रा गर्ने सम्पदा मार्गमा विभिन्न हेरिटेज होमहरु भिन्न भिन्न विशेषतासहित आफूलाई प्रवद्र्धन गरिरहेका छन् । हेरिटेज होम र कल्चर होमस्टेका रुपमा आफ्नो परिचय दिने यी हस्पिटालिटि विजनेसहरु आफू क्याफे, गेष्ट हाउस, ट्रेडिसनल होम्स वा अन्य पर्यटन व्यवसायका रुपमा दर्ता भए पनि सम्पदा क्षेत्र, मूर्त तथा अमूर्त संस्कृति र स्थानीय समुदायसंगको भावनात्मक सम्बन्धलाई जोड दिइएकाले नै आफूहरु हेरिटेज होम वा कल्चरल होमस्टे भएको बताउँछन् । कोजीका सञ्चालक श्रेष्ठ, स्वठः होम्सका एक्ज्युकेटिभ बज्राचार्य वा नेवाःका संस्थापक देबेन्द्रको धारणा उस्तै छ । 

पाटन दरवार स्क्वायरसंगै पर्यटन साइनो जोडिएको पाटनका विभिन्न क्षेत्रमा रहेका हेरिटेज होम्सहरुले पर्यटकहरुलाई पारीवारिक वातावरण सहितको सेवा र सन्तुष्टि सहितको हस्पिटालिटी व्यवसाय गरिरहेका छन् । कोभिड पछि विस्तारै पर्यटकहरु आउने समयमा पिम्बहाल पोखरीको छेवैमा तःजाःफः हेरिटेज होम सुरु गरे शैलेन्द्र श्रेष्ठले ।

पर्यटकहरु नेपालीको स्वागत सत्कारसंग साह्रै आकर्षित हुन्छन् र पटक पटक नेपाल आउँदा खोजी खोजी आएर बस्छन् अनुभव सुनाउँदै श्रेष्ठले भने हामीसँगै बसेर चाडपर्व मनाउँछन् किचेनमा बसेर नेवारी परिकार बनाउन सिक्छन् अनि संगै बसेर खान्छौं । यो हाम्रो कल्चरल होमस्टेको विशेषता पनि हो । यसरी किचेनका रिसिपि देखि चाडपर्व र मेला महोत्सवहरुमा स्थानीय समुदायसंग घुलमिल गर्दै सांस्कृतिक आत्मीयता साट्ने पर्यटकहरुको बसाइ लम्बिने देखि फेरिफेरि आउने सम्भावना पनि बढ्ने हुनाले पर्यटन उद्यम दिगो हुने तःजाःफःका सञ्चालक श्रेष्ठको अनुभव छ । 

समृद्धिको साइनो 

यी केही प्रतिनिधिमूलक कल्चरल होमस्टे र हेरिटेज होमको लोभलाग्दो समृद्धिको कथाले फेरि पाटन र पर्यटनको साइनो समृद्धिसंग कसिँदै गएको अनुभव गर्न गाह्रो पर्दैन । पाटन दरवार स्क्वायर, कुम्भेश्वर देखि पाटनढोकासम्म क्षेत्रको भित्री पाटनमा भएको हेरिटेज सिटीको परिधि आसपासका हस्पिटालिटि व्यवसायहरुले आफूलाई हेरिटेज होम वा कल्चरल होमस्टे भनेर परिचय दिन रुचाए पनि त्यसबाहेक सय हाराहारी गेष्ट हाउसहरु आफूलाई बेड ब्रेकफाष्ट विजनेस (बिएण्डबी) भनेर चिनाउन रुचाउँछन् । पर्यटक आगमनका लागि सहजीकरण गरिदिने अनलाइन प्लेटफर्म मानिने एयर बीएण्डबी र बुकिङ डटकमसंग जोडिने यी व्यवसायमा धेरै बाहिर अध्ययन गरेर फर्किएका युवाहरु, नेपालमै राम्रो विद्यालयमा पढेर देशमै केही गरौं भन्ने सोच भएका युवाहरु अनि राजनीतिको थकाइ वा असफलताको निरासाभन्दा टाढा बसेर चुपचाप चाखलाख्दा काम गरिरहेका व्यवसायी भेटिन्छन् । यो समृद्धिको बलियो आशालाई राज्यले भने नचिनेजस्तो गरेको अनुभव उनीहरुसँग छ । 

News-chhen-1727420990.png
कल्चरल होमस्टे वा हेरिटेज होमको कन्सेप्ट लिएर साँढे दुई दशक अघिदेखि हेरिटेज साइटमा हस्पिटालिटी सेवा दिइएरहेका व्यवसायीहरुलाई दर्तामै नाम परिवर्तन गर्न सुझाव दिने कार्यालयहरुसंग भने भेट्न नपरे हुन्थ्यो जस्तो हुदो रहेछ । अझ होमस्टे कार्यविधिले त कल्चरल होमस्टेलाई चिन्दोरहेनछ । ग्रामीण भेग वा टिपीकल वस्ती भएका ठाउँमा समुदाय मिलेर सञ्चालन गर्ने अनि अनेक मापदण्डका झन्झटले भईरहेका व्यवसाय समेत असर पर्ने अवस्था देखेपछि अलग्गै प्रावधान नभए साविक होमस्टेको रुपमा दर्ता नभएर अरु हस्पिटालिटी व्यवसायको रुपमा दर्ता हुनुपरेको पीडा हेरिटेज साइटका यी हेरिटेज होमहरुसंग रहेछ । 

हेरिटेज र कल्चर जोगाउने काम राज्य, सरकारका निश्चित कार्यालय वा निकायले मात्रै सम्भव हुँदैन । यसलाई जनस्तरका संघसंस्था, स्थानीय तह लगायतका कार्यालयहरु र नागरिकहरुले आफ्नो तहबाट गर्नुपर्छ । संस्कृति र सम्पदालाई समृद्धि र सन्तुष्टिसंग जोड्न सकेको खण्डमा मात्रै पुस्तौंसम्म हस्तान्तरित भएर जान सक्छ यो स्थापित मान्यता तथा व्यवहारसिद्ध तथ्य पनि हो । 

सरकारको सोच 

पाटनलाई पर्यटनमार्फत नै पहिचान, प्रवद्र्धन, परिस्कृत र समृद्ध बनाउन सकिन्छ भन्ने परिकल्पना गरेरै ललितपुर महानगरपालिकाले पर्यटन केन्द्रित कामको सहजीकरण, पहलकदमी र अगुवाई ललितपुर महानगरपालिकाले गरिरहेको जनप्रतिनिधिहरुका अभिव्यक्ति, महानगरपालिकाका नीति तथा कार्यक्रम लगायतका दस्तावेजहरु र कार्यक्रमहरुमा देख्न पाइन्छ ।

महानगरपालिकाले जात्रा तथा पर्वहरुको सञ्चालन, भवन मठमन्दिरहरुको जिर्णोद्धार, पर्यटन सम्पदामार्गको मर्मत सम्भार, सडकबत्ती, पर्यटक बसपार्क, पर्यटक सूचना केन्द्र, पर्यटक सुरक्षा प्रत्याभूतिका लागि सिसिटीभी लगायतको प्रवन्ध गरेको पाइन्छ । तर संघीय कानुन, पर्यटन नीति तथा कानुनहरु, ऐन नियम नभएका कारण हेरिटेज होम वा कल्चरल होमस्टे नामले दर्ता गर्ने, पर्यटक आगमन तथा कारोवार प्लेटफर्म निर्माण गर्न सहजीकरण गरिदिने जस्ता कामहरु गर्न महानगरपालिका एक्लैले गर्न नसकेको पनि जनप्रतिनिधिहरु स्वीकार्छन । पर्यटनमार्फत स्थानीय नागरिकको जिवनस्तर उकास्नका लागि नै होमस्टेहरुलाई हेरिटेज होम र कल्चरल होमस्टेको रुपमा संचालन हुन दिईरहेको पनि महानगरको तर्क छ ।

पर्यटकहरुको ध्यान आकृष्ट गर्नकै लागि पोखरी तथा धाराहरुको पुननिर्माण, बहाल बहि तथा सत्तलहरुको पुननिर्माण, विहार तथा चोकहरुको संरक्षण पुननिर्माणमा महानगरले सघाउने गरेको पाइन्छ । ज्यापु समाज लगायत नेवारी समुदायका मूर्त अमूर्त संस्कृति र सम्पदा संरक्षणका लागि जातीय समाजगुठी तथा सांस्कृतिक समूह वाजा खलः हरुलाई महानगर, वडा, प्रदेश सरकार र संघीय सरकारले नियमित रुपमा बजेट छुट्याउने गरेको छ । यसबाट प्रष्ट हुन्छ संस्कृति र सम्पदा ललितपुर महानगर र पाटनवासीको जीवन नै हो । 

निश्कर्ष 

पाटनलाई केन्द्र बनाएर विस्तार भएको मल्लकालीन मनिङ्गल राज्यको विस्तारित रुप होस वा समयक्रममा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको रुपमा विस्तारित भएको विद्यमान ललितपुर महानगरपालिका, पर्यटनमार्फत समृद्धिको साइनो धेरै पुरानो छ र दिगो हुने सम्भावना छ । विद्यमान महानगरपालिकामा पर्ने साविक गाविस क्षेत्रका खोकना, बुगमती, धापाखेल, हरिसिद्धि लगायतका क्षेत्रहरु पनि कल्चरल होमस्टे तथा हेरिटेज होम सञ्चालन गर्न सकिने थप सम्भावित ठाउँहरु हुन् ।

महानगरपालिकाभित्रको सभ्यता र सम्पदालाई एकीकृत रुपमा संयोजन गर्दै हस्पिटालिटी व्यवसायको विस्तारको सुत्रका रुपमा हेरिटेज होम र कल्चरल होमस्टेको प्रवद्र्धन हुन सके कम लगानीमा धेरै रोजगारी सिर्जना हुने राम्रो सम्भावना छ । संघीय राजधानीका हिसावले देशैभरका नागरिकको प्रमुख महत्वको क्षेत्र अनि विदेशी पर्यटकहरु नेपाल झर्नासाथ एकैछिनमा पुगेर शान्त तथा मनोरम वातावरणमा सांस्कृतिक, पुरातात्विक एवम् सम्पदासंग साक्षात्कार गर्न सकिने भएकाले पनि पाटनको पर्यटन साइनो ऐतिहासिक र दीर्घकालीन छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update