Odapalika - The Fourth Estate - चौथो अंग
बागमती प्रदेशले निकासा गर्‍यो स्थानीय तहलाई अनुदान 

काठमाडौँ  । बागमती प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने अनुदान निकास गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्थानीय तहलाई प्रदान गर्नुपर्ने अनुदान निकासा गरेको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । 

बागमती प्रदेशमा ११९ स्थानीय तह छन् । उनीहरुलाई विभिन्न शीर्षकका अनुदान गरी २ अर्ब ७ करोड ५४ लाख ७८ हजार रुपैयाँ निकासा भएको छ ।

प्रदेश सरकारले स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, समपूरक अनुदान र ससर्त अनुदानबापतको पहिलो किस्ताको रकम निकासा गरेको हो । 

प्रदेश लेखा एकाइ कार्यालयले हरेक आर्थिक वर्षको भदौ १५ गतेभित्र पहिलो किस्तावापत स्थानीय तह सञ्चित कोषमा दाखिला गर्नुपर्ने हुन्छ । तर, बागमती प्रदेशले करिब एक महिना ढिलोगरी निकासा गरेको हो ।

समपूरक अनुदान र विशेष अनुदान वितरणसम्बन्धी कार्यविधिले तोकेका मापदण्ड पूरा नगरेको, कुनै पालिकाले अनुदानका लागि माग नै नगरेको, कार्यपालिका बैठक पनि नबसेको, कार्यपालिकाको बैठकबाट निर्णय नभएका स्थानीय तहको भने अनुदान निकासा भएको छैन । निकासाका लागि माग गर्दा कागजात नपुगेका स्थानीय तहको पनि अनुदान निकासा रोकिएको छ । तर, प्रक्रिया पूरा गरेकाहरुको निकासा भइसकेको छ । 

पहिलो किस्ताबापत वित्तीय समानीकरण अनुदान २५ प्रतिशतले १ अर्ब ६६ करोड २५ लाखको ४१ करोड ५६ लाख २६ हजार रुपैयाँ निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

विशेष अनुदान ११९ तहमध्ये १०६ स्थानीय तहका लागि स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्तावापत निकासा भएको छ । प्रदेश सरकारले व्यहोर्ने ७२ करोड १८ लाखको २५ प्रतिशत १८ करोड चार लाख ५० हजार रुपियाँ १०६ वटा स्थानीय तहमा विशेष अनुदान निकासा गरिएको हो ।

विशेष अनुदान नपाउने १३ स्थानीय तह छन् । जसअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, बिगु गाउँपालिका, नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, रोसी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, सुनकोशी गाउँपालिका, कालिका गाउँपालिका, आमाछोदिङ्मो गाउँपालिका र राप्ती नगरपालिका हुन् । 

यस्तै, समपूरक अनुदान ११९ पालिकामध्ये ११३ स्थानीय तहलाई निकासा हुँदा ६ स्थानीय तहको रोकिएको छ ।  स्वीकृत योजना कार्यान्वयनका लागि पहिलो किस्ताबापत प्रदेश सरकारले व्यहोर्ने २ अर्ब ४८ करोड ८ लाख ५० हजारको ६२ करोड २ लाख १२ हजार ५०० रुपैयाँ ११३ स्थानीय तहलाई निकासा भएको छ ।

तर, काठमाडौँ महानगरपालिका, कालिञ्चोक गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र राप्ती नगरपालिकाको समपूरक अनुदान निकासा भएको छैन । 

यसैगरी ससर्त अनुदान ११९ तहका लागि चालु आर्थिक वर्षका लागि ३ अर्ब ४३ करोड ६७ लाख ५८ हजारको २५ प्रतिशतले पहिलो किस्तामा ८५ करोड ९१ लाख ८९ हजार ५०० रुपैयाँ निकासा भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update