Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले गर्यो बाढीजन्य जोखिममा परेकालाई अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौँ । अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई महानगरका विभिन्न वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । 

वडा नं. १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था ग¥यो । वडाध्यक्ष रामकुमार केसीका अनुसार विहान ५ सय जनालाई खानाको प्रबन्ध गरिएको छ । 

उनका अनुसार आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ । बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ । 

बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो । यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ । वडा नं. १४ का वडाध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव प¥यो । वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण ग¥यो । ४ सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरियो । 

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट विछ्याइएको छ । 

वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।   

शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनाराहुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो । विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए । यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए । यसका लागि ४ वटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको थियो ।

काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो । खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो । ७४ वटा पशु चौपाया क्षति भयो । १ हजार ३४० वटा घर डुवान भए ।   

यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो । 

भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो । 

बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् । अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो । 

सिरक डस्ना वितरणको तयारी

काठमाडौँ महानगरपालिका वडा नम्बर १० ले बाढी प्रभावित व्यक्ति र परिवारलाई सिरक डस्ना वितरणको तयारी गरेको छ । प्रभावितलाई सुत्न समस्या भएकोले सिरक डस्ना वितरणको तयारी गरिएको वडा नं. १० का वडासदस्य नरोज अर्यालले जानकारी दिए ।

‘अहिलेसम्म हामी खाना खुवाउने र उद्धार गर्ने कार्यमा बढी सहभागी भएका छौं । अब प्रभावितलाई आवश्यकताका आधारमा सिरक डस्ना वितरण गर्ने तयारी गरिरहेका छौं । उद्धार गरिएका व्यक्तिहरुलाई सार्वजनिक भवन र बन्दै गरेका नयाँ भवनहरुमा राखेका छौं । उनीहरुलाई नै सिरक डस्ना वितरण गर्न लागिएको हो,’ वडासदस्य अर्यालले वडापालिकासँग भने ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update