Odapalika - The Fourth Estate - चौथो अंग
विपतले  सिकाएको पाठः उपत्यकाका स्थानीय तहले डुंगा किनून् 

काठमाडौँ । अबिरल वर्षसँगै आएको बाढी र पहिरोका कारण आज बिहान ८ बजेसम्मको तथ्यांकअनुसार देशभर १०२ जनाले ज्यान गुमाइसकेका छन् भने ६४ जना अझै हराइरहेका छन् । 

लगातारको वर्षको कारण सबैभन्दा वढी उपत्यकामा ४८ जनाको मृत्यु भइसकेको छ भने २१ जना अझै बेपत्ता छन् । उपत्यकामा १९५ घर ८ वटा पुलमा क्षति पुगेको छ भने १५ जना घाइते छन् । 

तर उपत्यकाको विपत् पूर्वतयारी र विपतपछिको उद्धार कार्य हेर्दा निकै फितलो मात्र देखिएन, पूर्वतयारीसमेत नभएको देखियो । 

यतिसम्म कि स्थानीयले नख्खु खोलाले बगाएका ३ जनाको पानीमा पौडिएर उद्धार गरिसक्दा पनि गृहमन्त्री रमेश लेखक भने भिजिविलिटी नभएका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकिएको र बाढीमा फसेकोका उद्धार गर्न नसकि ज्यान गुमाएको  बताइरहेका थिए । 

यो प्रकरणले संघीय सरकार उद्धारमा मात्र होइन, सूचनामा समेत समयमा पहुँच राख्दैन भन्ने पुष्टि गरेको छ । 

विपत््का लागि पूर्वतयारी र उद्धार तथा राहतमा प्रचलित काननुले स्थानीय तहलाई अधिकार सुम्पिएको छ । 

तर सबैभन्दा वढी क्षति व्यहोरेको ललितपुर उपमहानगरपालिकाले नै समयमा आफ्ना नागरिकको उद्धार गर्न सकेन । 

यतिसम्मकी महानगर र उपत्यकाका विभिन्न स्थानमा जिफन्ट लगायतका संस्थाले ढुंगाको प्रयोग गरेर स्थानीयलाई उद्धार गरे । 

तर स्थानीय सरकारसँग विपतमा खट्न अहिलेसम्म बेग्लै तालिमप्राप्त सुरक्षा दस्तासमेत छैन । 

नगर प्रहरीले बाढीमा फसेकालाई डोरीले उद्धार गर्नुपरेका कारण मानवीय क्षति बढी भएको स्थानीय पीडितहरु गुनासो गरिरहेका छन् । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले तालिम प्राप्त जनशक्ति र उपकरण पर्याप्त नभएकै कारण समयमै सबैतिर उद्धार गर्न नसकिएको स्वीकार गरे ।

उपत्यकाको यो पछिल्लो घटनाले हरेक स्थानीय तहका सबै वडामा अब कम्तीमा एउटा डुंगा किनेर तयारी अवस्थामा राख्नुपर्ने देखिएको छ । 

स्थानीयहरुले नगर प्रहरीलाई विपतसम्बन्धी तालिम दिन सकेको भए कम क्षति हुने बताइरहदा स्थानीय तहको ध्यान अब त्यसतर्फ पनि जानुपर्ने देखिएको छ । 

स्थानीय तहले विपत् प्रतिकार्यका लागि बजेट जोहो गरेपनि जनशक्ति उत्पादन गर्न नसक्दा उपत्यकाले नै सबैभन्दा बढी क्षति व्यहोर्नुपरेको जनप्रतिनिधिहरुले नै स्वीकार गरेका छन् । 

यो घटनाबाट पाठ सिक्दै अब उपत्यकाका सबै स्थानीय तहले बाढीमा फसेकोको उद्धारका लागि डुंगा खरिद गरेर राख्नुपर्ने, नगर प्रहरीलाई विपतमा कसरी उद्धार गर्ने भन्ने तालिम दिनुपर्ने, उद्धारका लागि आवश्यक उपकरण खरिद गरेर तयारी र चालु अवस्थामा राख्नुपर्ने अवस्था देखिएको ललितपुर महानगरका मेयर महर्जन स्वीकार गर्छन् । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update