Odapalika - The Fourth Estate - चौथो अंग
बाढी पहिरो : दक्षिण ललितपुरका ३ वटा गाउँपालिका सडक, बिजुली र सञ्चारबिहीन

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण लक्षिण लतिलपुरका ३ स्थानीय तह सडक, विद्युत् र सञ्चारबाट सम्पर्कविहीन भएका छन् ।

विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोम गाउँपालिकाका स्थानीयले धनजनको क्षति व्यहोर्नुपरेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए । 

उनका अनुसार लेले चन्दनपुर सडक, मध्यपहाडी लोकमार्ग बन्द छ । विद्युतका पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन ।

बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए ।

उनका अनुसार माल्टामा दुई र आश्राङमा दुईवटा घर बगाएको छ । गिम्दीमा झोलुङ्गे पुल बगाएको छ । कतिपय स्थानमा खानेपानीको पाइप नष्ट भएका छन् भने भट्टेडाँडामा एउटा गोठ पुरिएर पाँच वटा दुहुना भैँसी पुरिएको छ ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका बताए । 

बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चारसम्पर्क, विद्युत् र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update