Odapalika - The Fourth Estate - चौथो अंग
३ दिनदेखि बेखबर ललितपुरकाे महांकाल गाउँपालिका, उद्धारका लागि हेलिकोप्टर पर्खदै स्थानीय सरकार

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाको कारण संघीय राजधानी समेत रहेको ललितपुर जिल्लाको महांकाल गाउँपालिका ३ दिनदेखि बेखबर बनेको छ ।

सो गाउँपालिकाको अतिप्रभावित क्षेत्र वडा नम्बर ३ र ४ मा सडक यातायात बन्द रहेको र विद्युत आपूर्ति अवरुद्ध भएको कारण टेलिफोन सम्पर्क पनि टुटेकोले केही जानकारी प्राप्त हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिए । 

‘हाम्रो गाउँपालिकाका सबै वडामा प्रभाव परेको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार अर्बाैको भौतिक संरचनामा क्षति पुगेको छ भने ११ जना सम्पर्क विहिन छन् । थप विवरण प्राप्त गर्न सकिएको छैन । सडक अबरुद्ध छन् । विद्युत आपूर्ति बन्द छ । विद्युत नहुदा मोबाइल र टेलिफोन सेवा पनि बन्द भएकोले केही जानकारी पाउनै सकिएन,’ प्रमुख प्रशासकीय अधिकृत विष्टले वडापालिकासँग भने ।

सो गाउँपालिका राहत र उद्धारका लागि संघीय सरकारको भर परेको छ । आफ्नो पहलमा हुन सक्नेसम्मको प्रयास गरेपछि थप स्रोत साधनको लागि संघीय सरकारसँग अनुरोध गरिएको हो ।

‘अहिले हामी प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा छौं । अन्य कुनै उपायबाट अतिप्रभावित क्षेत्रमा जान सक्ने अवस्था छैन । टेलिफोन सम्पर्क पनि टुटेकोले स्थानीय के कस्तो अवस्थामा छन् भन्ने पनि जानकारी छैन । त्यसैले हेलिकोप्टरबाट राहत र उद्धारका लागि जाने तयारीमा छौं । अहिले हामी हेलिकोप्टरको पालो कुरेर बसेका छौं,’ प्रमुख प्रशासकीय अधिकृत विष्टले भने ।

गाउँपालिकालाई प्राप्त जानकारी अनुसार गोटीखेल बजारमा रहेको प्रहरी चौकीमा क्षति पुगेको छ भने सो चौकीमा रहेका प्रहरीका केही हतियार पनि बाढीले वगाएको छ । यस्तै, गाउँपालिकाको एउटा गाडी पनि बाढीले बगाएको छ । गोटीखेल बजार पूरै बगरमा परिणत भएको छ । सोही क्षेत्रमा रहेको बैतरणीधाममा पनि क्षति पुगेको छ । 

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार लेले चन्दनपुर सडक, मध्यपहाडी लोकमार्ग बन्द छ । विद्युतका पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update