
जुम्ला । सिञ्जा गाउँपालिका–४ बारेस्थित धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ ।
तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा जानकारी दिन सो गाउँपालिकाले महोत्सवको आयोजना पनि गरेको छ ।
आन्तरिक तथा बाह्र पर्यटन प्रवद्र्धन गर्नाका साथै केदारनाथको आवश्यक प्रचारका गर्न १० भदौदेखि १२ गतेसम्म केदारनाथ महोत्सवको आयोजना गरियोे । गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले सो महोत्सवमा जुम्लाका मात्र नभएर धेरै जिल्लाका नागरिक आएकाले यस स्थानको प्रचार भएको बताए ।
नेपाल पर्यटन बोर्डको सहआयोजना र गाउँपालिकाको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरुको पनि सहभागिता थियो ।
‘ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथमा मनोरम प्राकृतिक दुश्य, बहुधार्मिक, बहुजातीय, बहुभाषिक जैविक विविधता र सामाजिक विविधता एवं ऐतिहासिक खस संस्कृतिले भरिपूर्ण रहेको केदारनाथलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियजगत्मा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा परिचित गराउन केदारनाथमै ऐतिहासिक महोत्सव आयोजना गरियो र यो भव्यरुपमा सम्पन्न पनि भएको छ,’ अध्यक्ष धितालले भने ।
महोत्सवको आयोजना गरेर स्थानीय कला, संस्कृति, वेशभूषाको जगेर्नामा टेवा पुगेको भन्दै पालिका अध्यक्ष खुसी व्यक्त गर्छन् । महोत्सवमा जुम्लामै उत्पादित स्याउका स्टलहरु, सिमी, राडीपाखी, पुर्खाहरुले प्रयोग गर्ने विभिन्न काष्ठकलाका सामग्री राखिएको थियो ।
महोत्सवसम्म पुग्न सिञ्जा गाउँपालिकाले साङ्टाखोलामा पक्की पुल निर्माणका साथै रुद्रप्रयाग शिवमन्दिर पनि निर्माण गरेको छ । काफल दिवस, खस दिवस, खस पात्रो सार्वजनिक र स्याउ दिवसका पहिचान गराउनाका साथै महोत्सवमा इन्द्रेणी समूहको सांस्कृतिक प्रस्तुति पनि थियो ।
धार्मिक महोत्सवमा यहाँका झण्डै २०० भन्दा बढी धामीझाँक्रीको प्रस्तुति पनि थियो । यहाँ विभिन्न जिल्लाबाट बरदान माग्ने भक्तजनको घुइँचो लागेको थियो । सो मेलामा मदिराको बिक्रीवितरण पूर्णरूपमा प्रतिबन्ध लगाइएको थियो । मेलाका लागि गाउँपालिकाको कुनै रकम खर्च नभएको सिञ्जा गाउँपालिका अध्यक्ष धितालले जानकारी दिए ।
महोत्सवमा १० हजार दर्शकले अवलोकन गरेका र स्थानीय परिकारका ३२ वटा स्टल राखिएको सिञ्जा गाउँपालिका प्रवक्ता तीर्थ वडले बताए ।
नेपाल पर्यटन बोर्ड, कृषि विकास कार्यालय जुम्ला र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा महोत्सव सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।
पर्यटकीय गन्तव्य सिञ्जाको केदारनाथ क्षेत्र धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण भएर पनि उचित प्रचारप्रसार र विकासको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
समुद्री सतहदेखि लगभग ३ हजार ५०० मिटर उचाइको लेकको काखमा अवस्थित केदारनाथ मन्दिरमा अरू समय पनि पूजाआजा र दर्शन गर्नेको घुँइचो लाग्छ ।
खस नेपाली भाषाको जन्म थलोसमेत रहेको सिञ्जा क्षेत्रलाई पर्यटकीय क्षेत्रमा विकास गर्ने कार्य कर्णाली प्रदेश सरकारको विशेष प्राथमिकतामा परेको प्रदेश सरकारको भनाई छ ।