Odapalika - The Fourth Estate - चौथो अंग
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रश्नः बाढी पीडितको उद्धार र उपचार कसरी भइरहेको छ ?

काठमाडौँ । विगत ३ दिनको अविरल वर्षाको कारण देशभरमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । संघ, प्रदेश र स्थानीय सरकारहरु उद्धार कार्यमा नै लागिरहेका छन् । 

बाढी र पहिरोका कारण कति मानवीय क्षति भयो भन्ने पनि यकिन विवरण आएको छैनन् । भौतिक संरचना क्षति व्यापक रुपमा भएको अनुमान गरिए पनि कति परिमाणमा भएको छ भन्ने यकिन छैन ।

बाढी र पहिरोले देशभर धेरै क्षति पुर्याएको छ । यसरी क्षति पुर्याएको स्थानमध्ये काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका पनि एउटा हो । सो गाउँपालिकाका अध्यक्ष दिनेश लामा आफै उद्धार कार्यमा खटिएका छन् । उपाध्यक्ष मिमबहादुर वाइवा धुलिखेलमा बसेर उद्धार र राहतको समन्वय गरिरहेका छन् भने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तना गाउँपालिकाको कार्यालमा बसेर आवश्यक समन्वय गरिरहेका छन् । अर्थात सो गाउँपालिकाले विपतमा परेका जनलाई उद्धार र राहतमा प्रभावकारी रुपमा काम गरिरहेको छ । यसै सन्दर्भमा वडापालिकाले रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनालाई सम्पर्क गरी बाढी पीडितको उद्धार उपचार कसरी भइरहेको छ भनेर प्रश्न गरेको छः

बाढी पहिरोले पुर्याएको क्षतिको पछिल्लो अवस्थाबारे जानकारी गराइदिनुस न ?

अहिलेसम्म ११ जनाको मानवीय क्षति भएको छ । २२ जनाभन्दा बढी आइते अवस्था छ । भौतिक संरचनाको कुरा गर्दा हाम्रो गाउँपालिकाको वडा नं. १ मा १० शैयाको अस्पताल थियो, त्यो ड्यामेज भएको छ । वडा नं. मा पार्क, औद्योगिक ग्राम गर्दा धेरै क्षति भएको छ । अहिलेसम्मको हामीलाई प्राप्त विवरण अध्ययन गर्दा ३ खर्ब रुपैयाँभन्दा बढीको भौतिक संरचनाको क्षति भएको छ । 

हाम्रो गाउँपालिकाका विपी राजमार्ग पनि पर्छ । यसको १०० मिटरको दुरीमा २/३ ठाउँमा सडक भासिएको छ । त्यसैकारण राजमार्ग नै बन्द भएको छ । राजमार्ग बन्द भएको कारण हिजो र अस्ति आएका यात्रुहरु रोडमा लस्करै हिडेर गन्तव्यतर्फ गएको अवस्था छ । हिजो (शनिवार) बेलुकाबाट पानी पर्न रोकिएको छ । आज (आइतबार) घाम लागिरहेको छ । उद्धार कार्य पनि भइरहेको छ । सेनाले हेलिकोप्टरबाट उद्धार गरिरहेको छ । अहिलेको अवस्था यही हो ।

उद्धार भएका र घाइतेहरुको उपचारलगायतका सेवा सुविधा कसरी प्रदान गर्नुभएको छ ?

विपी राजमार्ग बन्द छ । त्यसैकारण एम्बुलेन्स चलेको छैन ।  जति पनि उद्धार भएको छ, ती सबैलाई धुलिखेल वा काठमाडौँ लगिएको छ । पालिका आसपासका स्वास्थ्य केन्द्रहरुमा उपचार सम्भव भएको छैन । 

राहत र उद्धारको लागि थप स्रोत साधन चाहिने अवस्था छ कि छैन ? संघ र प्रदेश सरकारसँग कत्तिको समन्वय भइरहेको छ ?

म आफै पनि संघबाटै आएको कर्मचारी हूँ । अहिलेसम्म राहत र उद्धारमा संघको नै अभिभावकीय भूमिका छ । हाम्रो लक्ष्य आज मानवीय उद्धार गरिसक्ने भन्ने छ । सेनाले उद्धार गरेको छ । त्यो संघ सरकार नै भयो । प्रदेशहरुले पनि योजना बनाउँदैछ । डाइरेक्ट टच भइसकेको छैन । पालिकास्तरको कुरा गर्दा पालिका अध्यक्ष आफू साइडमै उद्धार कार्यमा संलग्न हुनुहुन्छ । उपाध्यक्षज्यू धुलिखेलमा बसेर समन्वय गरिरहनु भएको छ भने म प्रमुख प्रशासकीय अधिकृत पालिकामा बसेर काम गरिरहेको छु । आज उद्धार कार्य सकेपछि भोलि तत्कालै विपतको बैठक बसेर के गर्न सकिन्छ, त्यो गर्नको लागि पालिका तयार छ । प्रदेशसँग समन्वय भइरहेको छ । संघमा पनि विवरणहरु पुगेको छ । संघ आफै उद्धारमा लागेको छ । फेरि विपी राजमार्ग नै अवरुद्ध भएकोले संघको पनि गम्भीर ध्यानाकर्षण भएको छ । संघ पनि यो समय धेरै नै सम्वेदनशील भएर लागिरहेको छ भन्ने हामीले बुझेका छौं । 

तपाईंलाई यो विपतसँग सम्बन्धित थप केही भन्नुपर्ने छ ? 

यसपालि यो विपतका बारेमा संघीय सरकारबाट पनि राम्रै अलर्ट जारी भएको हो । केही दिनअघिदेखि नै संघ सरकारले यस्तो विपत आउँदैछ भनेर भनेको थियो । सार्वजनिक सुचना नै निकालेको हो । तर पनि हाम्रो मानवीय वाध्यता र स्वभावले गर्दा यस्तो भएको हो । मुख्यकुरा हाम्रो जुन अविवेकी विकास छ, विकासका नाममा जतासुकै खोतल्ने कार्य भएको छ । रोशी गाउँपालिकामा यस्तो विपत आउनुको मुख्य कुरा राजमार्ग आसपास धेरै क्रसर छन् । ती क्रसरले भूगर्भ कमजोर बनाएको छ । त्यसको कारण पनि बढी क्षति भयो ।

अर्काे कुरा, भौतिक विकास वातावरणीय लाभभन्दा माथि हुन सक्दैन भने जस्तै विकास र वातावरणबीचको तारतम्य अलिकति मिलेन । त्यसैले हामीले यति धेरै जोखिम व्यहोर्नु पर्यो भन्ने हाम्रो बुझाइ छ । 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update