Odapalika - The Fourth Estate - चौथो अंग
अभिभावकबिहीन वालबालिका निःशुल्क पढाइरहेको बारपास सुलिकोटले दियो दसैँका लागि नयाँ कपडा 

काठमाडौँ । दसैँको अवसर पारेर गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । 

गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहीन बालबालिकालाई दसैँका लागि नयाँ कपडा खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।

अभिभावकविहीन बालबालिकालाई दसैँमा आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि गाउँपालिकाको तर्फबाट नयाँ लत्ताकपडा वितरण गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले पालिकाभित्रका अभिभावकविहीन बालबालिकाकालाई चालु शैक्षिकसत्रदेखि वडा नं ६ बाह्रकोटमा निःशुल्क खान, बस्न र पठनपाठनको सुविधासहित मनास्लु छात्रावास सञ्चालन गर्दै आएको छ । सोही छात्रावासमा बस्दै आएका १९ अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले नयाँ कपडा वितरण गरेको हो ।

केटाका लागि टिर्सट, पाइन्ट ज्याकेट, चप्पल र केटीका लागि कुर्तासुरुवाल, टिर्सट पाइन्टलगायत आफ्नो रोजाइको कपडा वितरण गरिएको उनको भनाइ छ । 

छात्रावासमा बस्ने बालबालिकालाई गाउँपालिकाले स्थानीय सूर्यज्योति माध्यामिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन नीति नै बनाएर निःशुल्क छात्रावास कार्यक्रम लागू गरेको हो ।

कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update