Odapalika - The Fourth Estate - चौथो अंग
बोदेबर्साइन नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा, १४ लाख बिगो दाबी 

काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिकाका नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, निमित्त प्रमुख कार्यकारी अधिकृतसहित नगरपालिकाका ३ जना कर्मचारी र एकजना पूर्ववडाअध्यक्षसहित ३ जना जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवसहित नगरपालिकाका पशु बिकास अधिकृत अर्जुन प्रसाद यादव र लेखापाल सरोजकुमार मण्डलविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो । 

आर्थिक वर्ष २०७७÷०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको बजेटमा हिनामिना गरेको भन्दै उनीहरुविरुद्ध जनही १४ लाख ७१ हजार ९२१ रुपैयाा बीगो, त्यति नै बरावरको जरिमाना र कैद सजाय माग गर्दै मुद्दा दायर भएको हो । 

नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी बोदेबर्साइन नगरपालिका वडा न. ६ फुलकाहीमा कार्यक्रम संचालन गरेकोमा झुट्टा बिल बनाई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

नगरपालिका पशु विकास अधिकृत यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमको संयोजकको जिम्मेवारी सम्हालेका थिए । 

यो जिम्मेवारीमा रहदा उनले कार्यक्रमको लागत अनुमान तयार गरी सम्झौता गरेको, झुठ्ठा बिल भरपाई बनाउने कार्यमा संलग्न रहेको, स्थलगत अनुगमन र योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको, कार्यक्रम नै संचालन नभएको भन्ने जानकारी हुँदासमेत सम्पन्न भएको भनी टिप्पणी आदेश तयार गरेर आफैँले  निर्णयार्थ पेश गरी १४ लाख ७१ हजार ९२१ रुपैयाँ माँ जगदम्बा कृषक समूहको खातामा भुक्तानी गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र  लेखापाल सरोज कुमार मण्डलले  बाख्रा व्यवसायी पकेट कार्यक्रमको लागत अनुमान स्वीकृत गरेको, कार्यादेश दिएको, कार्यक्रम नै संचालन नगरी सार्वजनिक खरिद ऐन, नियम विपरीत हुने गरी कार्यक्रम संचालन गरेको भनी पेश गरेका नक्कली बिल भरपाई समेतलाई अनदेखा गरी भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अखितयारको दाबी छ ।

नगरपालिकाका प्रमुख आतेश कुमार सिंह, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतविरुद्ध पनि अखितयारले मुद्दा दायर गरेको हो । 

माँ जगदम्बा कृषक समुहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्माविरुद्ध पनि यो प्रकरणमा भ्रष्टाचार गरको भन्दै मुद्धा दायर भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update