Odapalika - The Fourth Estate - चौथो अंग
बसको अग्रिम टिकट बुकिङ बन्द हुने !

काठमाडौँ । दशैँ तिहारसहित चाडपर्वलाई लक्षित गरी खुलाइएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरिएको छ । गत हप्ता शुक्रबार र शनिबारको लगातार वर्षासँगै आएको पहिरो, बाढी र डुबानले सडक बिग्रिएको कारण देखाउँदै अग्रिम टिकट बुकिङ बन्द गर्न खोजिएको हो । 

यही असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ । तर, सडक बिग्रिएकाले सवारीसाधन चलाउन सकस पर्ने भन्दै यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका हुन् । 

तर, यसअघि यातायात व्यवस्था विभागमा छलफल हुने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार अग्रिम टिकट बुकिङ बन्द गर्ने या नगर्ने विषयमा छलफल हुन लागेको  नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वडापालिकालाई जानकारी दिए । ‘अग्रिम टिकट बुकिङ बन्द गर्ने विषयमा आज अपरान्ह ३ बजे विभागमा छलफल हुँदै छ,’ उनले भने । 

सरकारसँग छलफल गर्नुअघि व्यवसायी आन्तरिक छलफलमा छन् । उनीहरु सडकको दूरावस्थामा अग्रिम टिकट काटेर सार्वजनिक यातायातका साधन चलाउन सकस हुने बताउँछन् । अहिले पनि केही अवरुद्ध सडक खुलाउन सकिएको छैन भने खुलेका सडक पनि पहिरोका कारण बन्द हुँदै खुल्दै गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update