Odapalika - The Fourth Estate - चौथो अंग
पशुपतिमा अन्याय, साउनदेखि तलब पाएनन् १०० कर्मचारीले 

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषमा कार्यरत एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन् । चालु आर्थिक वर्ष लागेसँगै तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् । तर, माथिल्लो तह र प्रशासनमा काम गर्ने कर्मचारीले भने तलब बुझेका एकीकृत ट्रेड युनियनका सचिव रवि केसीले जानकारी दिए । 

अघिल्लो आर्थिक वर्षदेखि सुरक्षाकर्मीदेखि सरसफाइमा काम गर्ने एक सयभन्दा बढी कर्मचारीले तलब नपाउँदा साउन १ गतेबाट हाजिर भएका अधिकृत तहका कर्मचारीले भने पारिश्रमि बुझेका केसीले दाबी गरे ।

‘साउनदेखि तल्लो तहका एक सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन्,’ उनले भने, ‘तर, गएको साउन १ गतेबाट भर्ती भएका अधिकृत तहका कर्मचारीले भने पारिश्रमिक बुझेका छन् ।’ 

साउनदेखि तलब नपाउँदा समस्यामा परेका तल्लो तहका कर्मचारीमा दशैँ पनि पारिश्रमिक नआउने हो कि भन्ने चिन्ताले सताएको उनले बताए । 

तलब माग्दा परिषद् बैठकले निर्णय नगरेको र बैठकमै पारिश्रमिक निकासाका लागि एजेन्डा नै नलगिएको भन्दै माथिल्लो तहका कर्मचारीले तत्लो तहका कर्मचारीलाई टार्दै आएको आफूलाई गुनासो आएको एकीकृत ट्रेड युनियनका सचिव रवि केसीले बताए । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बसेर उनीहरुलाई तलब निकासा गर्नुपर्नेमा बेवास्ता गर्दै आएको उनले आरोप लगाए । 

तर, विभिन्न कारणले रोकिएको कर्मचारीको तलब अब एक दुई दिनमै दिइने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । ‘एक दुई दिनमै परिषद् बैठक बसेर उहाँहरुको तलब दिन्छौँ,’ उनले भने । काम गरेपछि तलब नदिने भन्ने नै नहुने भन्दै उनले दशैँअघि नै सबै कर्मचारीले तलब पाउने बताए । 
 

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update