Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको स्वास्थ्य टिम औषघि वितरण गर्न वडा वडामा 

ललितपुर । ललितपुर महानगरले दुई दिनको अविरल वर्षासँगै आएको बाढी प्रभावित वडाहरुमा औषधि वितरण सुरु गरेको छ । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले बाढीको विपद्पछि देखिने स्वास्थ्य संकटबारे जानकारी दिन महानगरको र्‍यापिड रेस्पोन्स टिम वडामा परिचालन भएको बताए ।

उनले भने, ‘विपदपछि देखिन सक्ने स्वास्थ्य समस्या बुझ्न औषधिसहितको विज्ञसहित टिम वडामा परिचालन गरेका छौं । ’ सूचना अधिकारी गुरागाईंका अनुसार  र्‍यापिड रेस्पोन्स टिम अहिले वडा नं.१३, १४, १८, २५ मा खटिएको छ । उनले भने, ‘अन्य वडामा पनि टिमका साथीहरु जानुहुन्छ ।’ कुनै पनि किसिमको अप्ठ्यारो, समस्या वा  जिज्ञासा भए महानगरको हटलाइन नम्बर ११३१ सम्पर्क गर्न समेत उनले नगरवासीलाई अनुरोध गरे । 

महानगरपालिकाले जनस्वास्थ्य शाखाका मेडिकल इमरजेन्सी टिम लिडर डा. छविन्द्र गैरेले पानी शुद्ध बनाउने औषधि लगायत ज्वरो, रुघाखोकी, सामान्य चोटपटकका औषधि वितरण गरेको जानकारी दिए ।

डा गैरेले भने, ‘ बाढी आएपछि पानीका मुहानहरु प्रदुषित हुन सक्छन्, त्यसैले पानीको सुद्धिकरण अत्यावश्यक छ । ’ शुद्ध पानी पिउन अनुरोध गर्दै पानी शुद्ध बनाउने औषधि पनि दिएका छन् । ’ महानगरले मरेका जनावर कुहिँदा गन्ध आउन सक्ने तर्फ ध्यान दिँदा गन्ध आउन नदिन स्प्रे समेत विभिन्न ठाउँमा गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update