Odapalika - The Fourth Estate - चौथो अंग
बाढी र पहिरोले आक्रान्त पनौती नगरपालिका खानेपानीको समस्यामा,  मेयर भन्छन्– कसैले पाइप दिए हुन्थ्यो

काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षापछि बाढी र पहिरोले आक्रान्त पनौती नगरपालिका खानेपानीको गम्भीर समस्यामा परेको छ । बाढी र पहिरोका कारण खानेपानीका मुहान बगेको तथा पानी वितरण गर्ने पाइपलाइन नै बगाएको कारण खानेपानीको चरम अभाव भएको हो ।

नगरपालिकाका सबै वडामा खानेपानीको चरम अभाव भएको मेयर रामशरण भण्डारीले जानकारी दिए । पानीका कतिपय मुहानसम्म अझै पनि पुग्न नसकिएकोले के कति क्षति भयो भन्ने यकिन नभएको उनको भनाइ छ ।

panauti--pahiro3-1727869583.jpg
‘नगरपालिकाका सबै वडामा खानेपानीको चरम अभाव छ । हामी जतिवटा मुहानमा पुगेका छौं, त्यो हेर्दा तत्काल पानी ल्याउन सक्ने अवस्था छैन । मुहान बाढीले बगाएको र पहिरोले लगेको छ । कतिपय स्थानमा पाइप नै बगाएको छ । त्यसैले पनौती नगरपालिका लामो समयसम्म पानीको चरम अभावमा पर्ने देखियो,’ मेयर भण्डारीले वडापालिकासँग भने ।

नगरपालिकाले बजार क्षेत्रमा भने ट्यांकरबाट पानी ल्याएर वितरण गर्ने अल्पकालिन व्यवस्था गरेको छ । बजार क्षेत्रमा विभिन्न स्थानमा ट्यांकी बनाउने र ट्यांकरबाट पानी ल्याएर सो ट्यांकीमा राखेर पानीको तत्कालिन अभाव पूर्ति गरिएको छ । यसको सबै खर्च नगरपालिकाले गरेको छ । 

panauti--pahiro2-1727869582.jpg
‘एकीकृत आयोजनाको साढे १३ किलोमिटर पाइपलाइन नै बगाएको छ । मुहानमा त्यस्तै क्षति पुगेको छ । अन्य आयोजनाहरुको पनि मुहानमा क्षति र पाइप बगाएको छ । अहिले हामीलाई तत्काल अति आवश्यक भनेको खानेपानीको पाइप हो । पानीको चरम अभाव भएको बेलामा केही दाताहरुले बोतलमा पानी ल्याएर दिने गरेको पनि देखियो । यो जस्तो मजाक केही होइन । एक बोतल पानीले हाम्रो तिर्खा मर्दैन । बरु हामीलाई खानेपानीको पाइप सहयोग गर्ने दाता भए ठूलो राहत र पुन्य हुने थियो,’ मेयर भण्डारीले थपे ।

panauti--pahiro1-1727869581.jpg
उनले सो नगरपालिकाका खानेपानी वितरणका लागि ५० एमएमसम्मको पाइप दिने दाता पाए आफूहरुलाई ठूलो राहत पुग्ने पनि बताए ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update