Odapalika - The Fourth Estate - चौथो अंग
महांकालमा पानीको हाहाकार, राहत बोकेर बल्ल पुग्यो सरकारी टोली 
फाइल तस्बिर

काठमाडौँ । ललितपुरको महांकाल गाउँपालिकामा पानीसहित अत्यावश्यकीय वस्तुको हाहाकार भएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै गएको पहिरो र डुबानका कारण खानेपानीको समस्या भएको हो । 

‘यहाँ खानेपानीसहित अत्यावश्यकीय वस्तुको अभाव देखिएको छ,’ गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेले वडापालिकासँग भनिन् । सडक सम्पर्कबाट विच्छेद भएको सो गाउँपालिकामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ ।

१३ जनाको मृत्यु, ५ जना बेपत्ता 

यही असोज ११ र १२ गतेको वर्षाले निम्त्याएको विपत्तिमा परेर महांकालमा १३ जनाको मृत्यु भएको छ । अझै ५ जना बेपत्ता भएका छन् । ‘यहाँ १३ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता भएका छन्,’ उपाध्यक्ष गोलेले भनिन् । 

उनका अनुसार गोटीखेलमा चारजना, मानिखेलमा एकजना, ठोट्नेमा आठजनाको मृत्यु भएको हो । ठोट्नेमै पाँचजना बेपत्ता भएका उनले बताइन् । 

५० भन्दा बढी घरमा क्षति 

बाढीपहिरोमा परेर महांकालमा ५० भन्दा बढी घरमा क्षति भएको छ । महांकाल गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार २ नम्बर वडामा ३६ घर र ६ नम्बर वडामा १५ घरमा क्षति भएको हो । 

सरकारी टोली बल्ल पुग्यो 

बाढीपहिरोबाट धनजनको क्षति भएको र पानीको समेत हाहाकार भएको ५ दिनपछि सरकारी टोली राहत लिएर पालिकामा आइपुगेको उपाध्यक्ष गोलेले बताइन् । ‘बल्ल हिजो (बुधबार) सरकारी टोली राहत बोकेर आइपुगेको छ,’ उनले भनिन्, ‘अब हामी राहत विरतण र पुनर्स्थापनामा सक्रिय हुन्छौँ ।’   
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update