Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह, एक नम्बरमा पोखरा हुँदा दोस्रोमा काठमाडौँ 

काठमाडौँ । नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही सरकारले नागरिकको विभिन्न समस्या समाधान गर्ने मात्र होइन जन्मदर्तादेखि नागरिकता बनाउनसम्म सिफारिस दिने गर्छ । 

तर, यही सरकार सबैभन्दा बढी भ्रष्टाचारमा डुब्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको संख्या देखाउँछ । हालै राष्ट्रपतिलाई बुझाइएको अख्तियारको ३४औँ वार्षिक प्रतिवेदनअनुसार ७५३ स्थानीय तहतर्फ १९ हजार १०६ वटा भ्रष्टाचार र अनियमितताको उजुरी परेको छ । 

सोही प्रतिवेदनअनुसार सबैभन्दा बढी भ्रष्टाचार र अनियमितताका उजुरी कास्कीको पोखरा महानगरपालिकाविरुद्ध परेको छ । यसपछि सबैभन्दा बढी उजुरी पर्नेमा क्रमशः काठमाडौँ महानगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, जनकपुर उपमहानगरपालिका, छिपहरमाई गाउँपालिका, कृष्णनगर नगरपालिका, जलेश्वर नगरपालिका, राजपुर नगरपालिका र १०औँ नम्बरमा हेटौँडा उपमहानगरपालिका रहेका छन् ।

पोखरा महानगरपालिकाविरुद्ध भ्रष्टाचार र अनियमितताका ३५९ उजुरी परेको छ भने काठमाडौँ महानगरपालिकाको २७५ उजुरी छन् । 

स्वतन्त्रबाट काठमाडौँ महानगरको मेयरमा निर्वाचित बालेन्द्र शाह (बालेन) चर्चामा छन् । उनकै नेतृत्वमा रहेका काठमाडौँ महाननगरविरुद्ध भ्रष्टाचार र अनियमितताका उजुरी धेरै पर्नेमध्ये दोस्रो स्थानीय तहमा परेको हो ।  

सबैभन्दा बढी भ्रष्टाचार भएको पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य छन् । उनी एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update