Odapalika - The Fourth Estate - चौथो अंग
दिप्रुङ चुइचुम्मा गाउँपालिको राहत प्याकेज: घर मर्मतदेखि किसानको अन्नबालीको पैसा दिने 

काठमाडौँ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हालैको बाढीपहिरोबाट प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

बिहीबार गाउँकार्यपालिका बैठकले यही असोज १० गतेदेखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट पीडित भएकाका लाथि आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष भूपेन्द्र बस्नेतले जानकारी दिए । 

‘हिजो गाउँकार्यपालिका बैठकले पीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय भएको हो,’ उनले वडापालिकासँग भने । उनका अनुसार घर मर्मत र पुनर्स्थापनाका लागि पूर्ण रुपमा क्षति भएकालाई प्रतिघर ३५ हजार र आंशिक रुपमा घर क्षति भएकालाई प्रतिघर १५ हजार रुपैयाँ नगद उपलब्ध गराउने निर्णय भएको हो । 

यसैगरी, खेतबारीमा लगाइएको अन्नबाली नष्ट भएका किसानका लागि पनि नगद राहत उपलब्ध गराउने निर्णय भएको प्रवक्ता तथा वडाध्यक्ष बस्नेतले जानकारी दिए । 

उनका अनुसार धान,मकै,कोदो, जुनेलो खेती पूर्ण नष्ट भएकालाई प्रतिमुरी ३ हजार र तेलहन र दलहन पूर्ण नष्ट भएकालाई प्रतिमुरी ८ हजार रुपैयाँ नगद राहत दिने निर्णय भएको हो । 

बाढीपहिरोबाट कति घर र कति अन्नबालीमा नष्ट भयो भन्ने एकीन तथ्यांक आइनसकेको उनले बताए । करिब २० घर पूर्णरुपमा क्षति भएको अनुमान गरिए पनि आंशिकको अनुमानसमेत गर्न नसकिएको उनले बताए । 

‘दिप्रुङमा २० घरमा पूर्ण रुपमा क्षति भएको अनुमान गरिए पनि आंशिकको आंकलनसमेत गर्न सकिएको छैन । मेरो वडामात्र ३२ घरमा आंशिक क्षति पुगेको छ,’ उनले भने, ‘पानी परिरहेकाले पनि तथ्यांक संकलनमा असर गरेको छ ।’ बिहीबारबाट पानी परेको उनले बताए । 

सुरक्षाकर्मीसहित स्थानीय उद्धार कार्यमा खटिरहेका जानकारी दिएका उनले वर्षाले असर गरेको बताए । अन्नबालीको क्षतिको पीडित किसान, सँधियार, जनप्रतिनिधि, सुरक्षाकर्मीसहितको समूहले मूल्यांकन गरेर किसानलाई राहत उपलब्ध गराउने उनको भनाइ छ । ‘पीडित किसान, सँधियार, हामी, सुरक्षाकर्मी सबैको रोहवरमा कति अन्नबाली नष्ट भयो भनेर एकीनसहित मुचुल्का उठाउँछौँ,’ उनले भने, ‘सोहीअनुसार अन्नबालीको क्षतिको राहत दिनेछौँ ।’ 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update