Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : राजनीतिक दल दर्ताका लागि २६ पार्टीले दिए निवेदन

काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २६ राजनीतिक दलले निवेदन दिएका छन् । उपनिर्वाचनको कार्यतालिकाअनुसार यही असोज १० देखि १६ गतेसम्म राजनीतिक दल दर्ताको कार्यक्रम थियो । उक्त समयावधिमा उपनिर्वाचनमा भाग लिन २६ राजनीतिक दलले निवेदन दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ । 

स्थानीय तहको उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादीसहित २६ दलले दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ताका लागि राजनीतिक पार्टीले दिएका निवेदनमाथि छानबिन गरेर आयोगले यही असोज २० गते आइतबार दर्ता स्वीकृत गर्ने निर्वाचन कार्यतालिका रहेको छ । दर्ताका लागि निवेदनको योग्यता नपुगेका दल निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ । 

मंसिर १६ गते जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुन लागेको हो । 

उक्त निर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ता, मंसिर ३ मंसिरमा उम्मेदवारविरुद्ध उजुरी आह्वान, मंसिर ५ मा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट १३ मंसिरको राति १२ बजेबाट मौनअवधि सुरू हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update