काठमाडौँ । अविरल वर्षपछि आएको बाढी र पहिरोले काभ्रेको रोशी गाउँपालिका बढी प्रभावित बन्यो । यतिवेला राहत र पुर्ननिर्माणका काममा स्थानीय सरकारले तिब्र गतिमा काम गरिरहेको छ ।
स्थानीय सरकारले बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडकमा यातायात पहुँच स्थापित, ढलेका विद्युत् पोलको मर्मतसम्भार, क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गरिएको छ ।
गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार बाढी प्रभावित क्षेत्रमा सडकको पहुँच स्थापित गराउन पालिका लागिपरेको छ ।
'विद्युतको ट्रान्सफर्मर ढुवानी, ढलेका पोल फेर्न बाटो नभई बोकेर लैजान सकिएन । त्यसकारण पहिले बिपी राजमार्ग र त्यसपछि पालिका जाने भित्री सडक दसँैअघि नै जसरी पनि सञ्चालन गरौँ भनेर अघि बढेका छौँ,' उनले भने ।
वाढी पहिरोबाट यो पालिकामा १२ को मृत्यु भएको छ । अध्यक्षका अनुसार भौतिक पूर्वाधारतर्फ १० बेडाको अस्पताल, पक्की र झोलुङ्गे पुल बगेका छन् भने औद्योगिक ग्रामको प्रशासनिक भवन पूर्ण रुपमा क्षति भएको छ ।
भर्खरै तयार भएको चिस्यान केन्द्र पनि बाढीले बगाएको छ । तामाङ समुदायको जीवन झल्कने रोशीको तटीय क्षेत्रमा रहेको डम्फु सङ्ग्रहालय र पार्क पनि बाढीले बगाएको छ ।
बाढी र पहिरोबाट पालिकाभित्र १२ वटा विद्यालय भवनमा क्षति पुगेको छ । एक दर्जन पक्किीसहित करिब ३०० घर पूर्ण क्षति भएका छन् ।
रोशी खोलाभित्रका धान उत्पादनमा मुलुकमै कहलिएका फाँटमा बढी पसेर सखाप भएको छ । बारीका कान्ला भत्किएर पाकेका मकैमा नोक्सानी पुगेको छ । रोशीलगायत खोला र खहरले धानबालीमा र्पुयाएको क्षतिको आंकलन गर्न सकिने अवस्था नै छैन । पालिका अध्यक्षका अनुसार एउटै व्यक्तिकै १५ रोपनीसम्म खेत रोशीले कटान गरेको छ ।
निजी सम्पत्ति र सडक बाहेक सार्वजनिक सम्पतिको क्षति मात्रै पनि अर्बौं मूल्य बराबरको छ । राजमार्ग छाडेर अस्पताल, औद्योगिकग्राम, डम्फु पार्कमा भएको नोक्सानी जोड्दा अर्बको क्षति भएको उनको भनाइ छ ।
पर्वको मुखमा कतिपय स्थानमा चामलसमेत लैजान नसकिएको उनको भनाइ छ ।