Odapalika - The Fourth Estate - चौथो अंग
विकराल बन्दै बेरोजगारीको अवस्था, एउटै पालिकामा ७ हजार बढी बेरोजगार  

बर्दिया । स्थानीय तहहरुले संकलन गर्ने गरेको बेरोजगारको तथ्यांकले देशभित्र बेरोजगारहरूको संख्या भयावह बन्दै गएको संकेत गरेको छ । 

बर्दियाको राजापुर नगरपालिकाभित्र मात्र ७ हजार २८५ जना श्रम योग्य व्यक्ति  बेरोजगार भएको पाइएको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको रोजगार सेवा केन्द्रले पालिकाका १० वटै वडाबाट संकलन गरेको तथ्यांकअनुसार पालिकामा यति धेरै बेरोजगार रहेको पाइएको हो । 

पालिकामा ६३ हजार ९५६ नागरिक बसोबास गर्छन् । अधिकांश थारु समुदाय (८७.२ प्रतिशत) को बसोबास रहेको नगरपालिकामा श्रम गर्न योग्य (१८ वर्ष माथिका) बेरोजगारको संख्या नै ७ हजार भन्दा बढी छ । 

नगरपालिकाले दिएको जानकारी अनुसार १८ देखि ४९ वर्षसमूहका व्यक्तिहरु सबैभन्दा वढी बेरोजगार पाइएका छन् । यसमा पनि महिलाको संख्या उल्लेख्य छ । 

नगरपालिकाका अनुसार १८ वर्ष देखि ५९ वर्षसम्मका ४ हजार ३०७ महिला बेरोजगार छन् भने २ हजार ९७८ पुरुष बेरोजगार छन् । 

सबैभन्दा वढी बेरोजगार वडा नम्बर १ मा छन् भने सबैभन्दा कम बेरोजगार वडा नम्बर ६ मा छन् । 

नगरपालिकाले तथ्यांक संकलन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिनका लागि ५३० बेरोजगारहरुको योग्यता क्रम निर्धारण गरेको जनाएको छ । यो कार्यक्रमअन्तर्गत रोजगारी प्रदान गर्दा यही योग्यताक्रमका आधारमा गरिने नगरपालिकाले जनाएको छ । 

unemployment1693480205.JPG

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update