Odapalika - The Fourth Estate - चौथो अंग
बाढीपछिको सकसः शौचालय जाने पानीसमेत छैन सुनकोशी गाउँपालिकामा 

काठमाडौँ । सुनकोशी गाउँपालिका चालु आर्थिक वर्षभित्रमा पूर्वाधारका अधिकांश काम सक्ने योजना बनाएर अघि बढ्दै थियो । 

तर अविरल वर्षपछिको बाढी र पहिरोमा परेर यहाँका सडक, पूर्वाधारदेखि लिएर मानव बस्तीसमेत उजाड बनाइदियो । बाढी र पहिरोले वितण्डा मच्चाएपछि पालिकालाइ अब कसरी अघि वढ्ने भन्ने चुनौती थपिएको बताउँछिन् गाउँपालिका अध्यक्ष दीपा बाेहाेरा (दाहाल) । 

पालिकामा बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र सङ्घसंस्थाबाट पीडित परिवारलाई राहत पुर्याउने कामसँगै भौतिक संरचनाको पुननिर्माणका काम विस्तारै अघि वढेका छन् ।

छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरिसकेको अवस्थामा  पालिकाभित्र अहिले नेपाल रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहेका छन् । 

कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग गरिरहेको अध्यक्ष बोहोराको भनाइ छ ।  बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । 

खोला किनार क्षेत्रका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । स्थानीय तहका जनप्रतिनिधि अब कसरी अघि बढ्ने भन्ने अन्योल अवस्थामा देखिन्छन् ।

३ अर्ब बढीको क्षति भएको पुर्वानुमान गरिएको सुनकोशी गाउँपालिकामा मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ ।१३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसैँ लगत्तै कसरी विद्यालय सञ्चालन गर्ने भन्ने अर्को चुनौती थपिएको पालिका अध्यक्ष बताउँछिन् । 

बाढीले मुहान बगापछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छ भने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तीकै छ । 

बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति गरेको छ । बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । ‘हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत् आपूर्ति हुन सक्छ’ अध्यक्ष बोहोराको भनाइ छ । गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले क्षति गरेको छ  ।

    
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update