Odapalika - The Fourth Estate - चौथो अंग
दशैँअघि नबन्ने खुर्काेटको पुल, गोलन्जरको १५ सय रोपनी जमिन खण्डहर बन्यो

काठमाडौँ । एक साताअघि अविरल वर्षापछि आएको बाढी र पहिरोले सिन्धुलीको गोलन्जर गाउँपालिकामा भौतिक रुपमा धेरै क्षति गरेको छ । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै सुनकोशी नदीसहित साना खोलामा आएको बाढी, पहिरो र डुबानले करोडौँको भौतिक रुपमा क्षति भएको छ । साथै किसानले लगाएका अन्नबालीमा समेत धेरै क्षति गरेको छ । अन्नबालीको क्षतिको अंकमा मूल्यांकन गरिनसकेको गोलन्जर गाउँपालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए । 

सिन्धुली र रामेछाप छोड्ने खुर्काेटको बेलिब्रिज बगाएको छ भने खुर्काेट बजार नै डुबानमा पर्‍यो । क्षतिको अन्तिम मूल्यांकन भइनसके पनि ५० करोडभन्दा बढीको घरमा क्षति भएको अनुमान गरिएको गोलन्जर गाउँपालिका अध्यक्ष बरालले जानकारी दिए । 

दशैँअघि खुर्काेटको पुल नबन्ने 

सुनकोशी नदीमा आएको बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्काेटको बेलिब्रिज दशैँअघि नबन्ने भएको छ । शनिबारबाट पुल बनाउने कार्य सुरु भए पनि निर्माण सम्पन्न कम्तिमा पनि १५ दिन लाग्ने अध्यक्ष बरालले जानकारी दिए । ‘हिजोबाट पुल बनाउन सुरु गरिएको छ । बीचमा कुनै अवरोध नभएमा १५ दिन बनाउन समय लाग्छ भनिएको छ,’ उनले भने, ‘दशैँअघि नै खुर्काेटको पुल बन्दैन ।’ 

खानेपानीको समस्या 

गोलन्जर गाउँपालिकामा अहिले खानेपानीको निकै समस्या परेको छ । बाढी, डुबान र पहिरोले गर्दा खानेपानीको समस्या भएको अध्यक्ष बरालले जानकारी दिए । ‘बाढी, डुबान र पहिरोले गर्दा अहिले हाम्रो गाउँपालिकामा निकै खानेपानीको समस्या भएको छ,’ उनले भने । खानेपानीको समस्या समाधानका लागि पनि पहल थालिएको उनको भनाइ छ । 

१५ सय रोपनी जमिन खण्डहर 

बाढी, डुबान र पहिरोले गोलन्जर गाउँपालिकामा १५ सय रोपनी जमिन खण्डहर बनेको छ । अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढी, अन्य खोलाका बाढी, डुबान र पहिरोले खेतीयोग्य १५ सय रोपनी जमिन खण्डहर बनेको अध्यक्ष बरालले वडापालिकालाई जानकारी दिए । ‘बाढी, पहिरो र डुबानले करिब खेतीयोग्य १५ सय रोपनी जमिन नष्ट गरेको छ,’ उनले भने, ‘५ रोपनी जमिन त कटान नै गरेको छ ।’ 

व्यापारिक केन्द्र नै डुबानमा 

गोलन्जरको व्यापारिक केन्द्रको रुपमा रहेका खुर्काेट र ग्वालटार डुबानमा पर्‍यो । सुनकोशी नदीमा आएको बाढीले खुर्काेट र ग्वालटार डुबानमा परेको हो । खुर्काेटको करिब ४० वटा पसल डुबानमा परेका अध्यक्ष बरालले जानकारी दिए । गोलन्जरको खुर्काेट, हैवार, बलेनी, ग्वालटारलगायत स्थान डुबानमा पर्दा करिब ५० करोडभन्दा बढी मूल्य बराबरको घरमा क्षति पुगेको उनले जानकारी दिए । ‘क्षतिको अंकमै मूल्यांकन भइसकेको छैन । तर, ५० करोडभन्दा बढीको क्षति घरमा भएको छ,’ अध्यक्ष बरालले भने । 

बाटोको ट्रयाक खोलेर एकतर्फी सञ्चालन

सिन्धुली भएर सोलुखुम्बु, खोटाङतर्फ जाने अवरुद्ध सडकलाई सिंगल ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको छ । ‘गोलन्जर भएर पूर्व जाने सवारी साधनले प्रयोग गर्ने बाटो अवरुद्ध भएको थियो,’ उनले भने, ‘तर, अहिले सिंगल ट्रयाक खोलेर एकतर्फी सञ्चालनमा ल्याइएको छ ।’ 

सरसफाइ गरिँदै 

बाढी, पहिरोले डुबान गरेको क्षेत्रमा अहिले सरसफाइ गर्ने कार्य भइरहेको अध्यक्ष बरालले वडापालिकालाई जानकारी दिए । विशेषगरी पुरिएका घरको सरसफाइ गरिएको हो । ‘अहिले सरसफाइ गर्ने काम भइरहेको छ । विशेष गरेर घर पुरिएका क्षेत्रमा सरसफाइ भइरहेको हो,’ उनले भने । 

राहत वितरणपछि पुनर्स्थापना

बाढीपहिरो र डुबानबाट पीडितलाई एकचरणको राहत सकिएको उनले बताए । राहत वितरण गरिसकेकाले अब पुनर्स्थापनामा ध्यान दिइएको उनले बताए । ‘हामीले सुरुमै राहत विरतण गर्‍यौँ,’ उनले भने, ‘एक चरणको राहत वितरण सकेकाले अहिले सरसफाइ गर्दै पुनर्स्थापनाको कार्य अघि बढाइएको छ ,।’
 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update