Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । ढुवानी व्यवसायमा नयाँ प्रविधि भित्रिएको छ । लोडबोड प्रालिले ढुवानी व्यवसायमा डिजिटल प्लाटफर्मको प्रयोग गरी सहज, सुरक्षित र भरपर्दाे सेवा प्रवाह सुरु गरेको हो ।

विशेष गरेर ट्रकमार्फत हुने ढुवानी तथा सिपमेन्टलाई व्यवस्थित गर्न नयाँ प्रविधिको विकास गरिएको कम्पनीका अध्यक्ष श्रीमान कार्कीले बताए । नेपाल सरकारले घोषणा गरेको डिजिटल नेपाल अभियानलाई सफल पार्न पनि नयाँ प्रविधिको विकास गरेर योगदान गर्ने जमर्काे गरिएको उनको भनाइ छ ।

‘नेपाल सरकार अहिले डिजिटल नेपाल अभियान सफल पार्ने कार्यमा लागेको छ । ढुवानी व्यवसायमा डिजिटल प्रविधिको आवश्यकता महसुस गरिएको छ । बजारको आवश्यकता र राज्यको अभियानलाई सफल पार्न हामीले प्रयास गरेका हौं,’ अध्यक्ष कार्कीले वडापालिकासँग भने ।

अहिले तयार पारिएको डिजिटल प्लेटफर्म हो । यसको कार्यान्वयनको लागि एप्लिकेसन बनाइन्छ । सो एप्लिकेसनमा ट्रक व्यवसायीलाई आवश्यक पर्ने सुचना तथा जानकारीहरु स्वचालित रुपमा जाने र त्यसले व्यसायीलाई सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोशनी श्रेष्ठले बताइन् ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नयाँ प्रविधिले यातायात व्यवसायी, चालक र सरकारलाई नै सहयोग पुग्ने विश्वास व्यक्त गरे । कतिपय अवस्थामा चालकका कारण व्यवसायी ठगिएको र कतिपय अवस्थामा चालकले आवश्यक महसुस गरेको समयमा सहयोग नपाउने अवस्था सिर्जना भएकोले नयाँ प्रविधिले त्यसमा सहजीकरण गर्ने उनको भनाइ छ ।

‘नयाँ प्रविधि व्यवसायीको लागि निकै सहयोग हुने देखिन्छ । यसको प्रयोगले चालक र सरकारलाई पनि सहयोग पुग्ने देख्छु,’ महासचिव बानियाँले भने ।

प्रालिले आजदेखि सो प्रविधिको सुरुआत गरेको छ । यसका लागि आवश्यक पर्ने फिचर थप गर्दै जाने र राज्य तथा व्यवसायीको अपेक्षा अनुसार सेवा विस्तार र सुधार गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन् ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update