Odapalika - The Fourth Estate - चौथो अंग
पाँचखालका मेयर खरेलले बाढीपहिरो प्रभावित तीन स्थानीय तहलाई ५/५ लाख रुपैयाँ दिने

काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बाढीपहिरो र डुबान प्रभावित तीन स्थानीय तहलाई पाँच पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएका छन् । 

मेयर खरेलले आफ्नो व्यक्तिगत तर्फबाट काभ्रेकै बाढीपहिरो र डुबानबाट प्रभावित पनौती नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिकालाई पाँच पाँच लाख रुपैयाँ सहयोग गर्न लागेका हुन् । 

यसबारे आइतबार बसेको कार्यपालिकाको बैठक मेयर खरेलले जानकारी गराएका प्रमुख प्रशासकीय अधिकृत अच्युतराज रेग्मीले वडापालिकालाई जानकारी दिए ।

‘मेयरज्यूले पनौती, रोशी र बेथानचोकलाई पाँच पाँच लाख गरी १५ लाख रुपैयाँ सहयोग गर्न लागेको बैठकमा जानकारी गराउनुभयो,’ उनले भने, ‘यसपछि कार्यपालिका सदस्य र हामीले उहाँलाई धन्यवाद दियौँ ।’ 

व्यक्तिगत सहयोग भएकाले बैठकले निर्णय गर्नु नपर्ने उनले जानकारी दिए । 

बाँकी कार्यकालबाट प्राप्त हुने पारिश्रमिक र भत्ता सबै बाढीपहिरो प्रभावित स्थानीय तहलाई दिने निर्णय गरेको मेयर खरेलले वडापालिकालाई जानकारी दिए ।

‘अब बाँकी कार्यकालबाट प्राप्त हुने पारिश्रमिक र भत्ता तीन स्थानीय तहलाई दिने निर्णय गरेको हुँ,’ उनले भने, ‘पारिश्रमिक र भत्ताबाट अपुग हुने रकम थपेर १५ लाख रुपैयाँ तीन स्थानीय तहलाई सहयो गर्न लागेको हुँ ।’

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update