Odapalika - The Fourth Estate - चौथो अंग
सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय 

काठमाडौँ । बलात्कारको अभियोगमा तल्ल अदालतले दोषी करार गरे पनि उच्च अदालतबाट सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा नचलाइने भएको छ । 

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको फैसलालाई चित्त बुझाउँदै पुनरावेदन नगर्ने निर्णय गरेको हो । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनका लागि सर्वाेच्च नजाने निर्णय गरेको हो । 

गएको पुस ५ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले आठ वर्ष जेल सजाय, जरिमाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध सन्दीप  उच्च अदालत पाटनमा गएका थिए । 

गएको जेठ २ गते उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । 

साउन ४ गते सार्वजनिक फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आधार र कारणसमेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला–२६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी कार्ड राजन राणाले गरेको बकक्रमका साथै मिसिल संलग्न परिस्थितिजन्य प्रमाणहरू समेतबाट पुनरावेदक प्रतिवादीले अभियोग मागदाबीबमोजिमको कसुर गरेको पुष्टि हुन आएन ।’

साथै पीडित प्रतिवादीको उमेर १८ वर्ष पूरा भएको उल्लेख फैसलामा गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update