Odapalika - The Fourth Estate - चौथो अंग
एक साताभित्र अवरुद्ध बीपी राजमार्ग खुल्ने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् । 

मंगलबार बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी बर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए । 

उनले भने, ‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ । यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठूलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

‘यो समस्यामा कहाँ जाउँला ? के गरुँला ? यो नसोच्नुहोला । सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ’उनले भने । विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।

उनले भने,‘यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन् ।  तीनवटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नुछ ।’

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update