Odapalika - The Fourth Estate - चौथो अंग
पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरले चलाउने, सबै सेवा निःशुल्क

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित पाशुपत क्षेत्रमा रहेको पशुपति गौशाला धर्मशाला आजबाट खाली गर्न गराउने भएको छ । महानगरले आजबाट खाली गर्न माइकिङ गरेको छ ।

पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले बताए ।

काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । 

फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते गरेको हो ।

परिषद्को निर्णयबमोजिम आज सहमति भएपछि महानगरपालिकाले आजै पशुपति क्षेत्रमा अनधिकृत संरचना बुधबार हटाउन माइकिङ गरेको छ । गौशाला धर्मशाला खाली गराएर महानगरपालिकाले व्यवस्थित रुपमा यसको सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । 

गौशाला धर्मशालाका सबै सेवा निःशुल्क दिइने व्यवस्थापन समितिको संयोजकसमेत रहेका वडाअध्यक्ष सङ्गत बताए । निःशुल्क सेवा दिएबापत खर्च सबै महानगरपालिकाले नै व्यहोर्ने सहमतिपत्रमा उल्लेख छ ।

 दाताले दिन चाहेमा भने दान दिन सक्नेछन् । दाताले दिएको दानलाई पनि व्यवस्थापन समितिले पारदर्शी रुपमा राख्नेछ ।  भगवान् पशुपतिनाथको सम्पत्तिका रुपमा रहेको पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको हो । 

२१ वर्षसम्म मारवाडी सेवा समितिले गौशाला धर्मशाला कब्जामा लिएको थियो । काठमाडौँ जिल्ला अदालतले २०६० मा पशुपतिनाथ अमालकोट कचहरी (हाल कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत आएको हो । 

 

कोष मातहत आएलगत्तै यसको सञ्चालन महानगरपालिकाले गर्नेगरी आज कोषका कार्यकारी निर्देशक सुभासचन्द्र झा र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update