Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकामा प्रभावकारी बन्दै दिवा खाजा, पोषिलो खानसँगै ल्यापटप पनि 

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले सदवा खाजा कार्यक्रम प्रभावकारी बनाएपछि बीचैमा विद्यालय छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ । 

वडा नम्बर ८ पारिफाँटा स्थित बैजनाथ आधारभूत विद्यालयका विद्यार्थी नियमित विद्यालय आउन थालेको वडा कार्यालयको भनाइ छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनले विद्यालयमा विद्यार्थीलाई टिकाइ राख्न सहयोग पुर्याएको हो ।

यो विद्यालयमा आर्थिक रुपमा विपन्न परिवारका बालबालिका विद्यालयमा पढने गरेका छन । दैनिक मजदुरी गरी जीविका चलाउने परिवारले विगतमा आफूसँगै बालबालिकालाई पनि काम गर्ने क्षेत्रमा लैजादा पढाइ प्रभावित हँुदै आएको थियो । श्रोत शिक्षक डवलबहादुर ठगुन्नाका अनुसार दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाइएपछि बालबालिका नियमित विद्यालय आउन थालेका छन । 

नगरको शिक्षा शाखाबाट बालकक्षादेखि ५ सम्मका विद्यार्थिलाई मात्रै दिवा खाजा खुवाउनका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले विद्यालयमा रकम निकासा पठाइने गरेको छ । त्यसै रकमबाट विद्यालयका कक्षा १ देखि ८ सम्मका विद्यार्थिलाई खाजा खुवाउने गरिएको श्रोत शिक्षक ठगुन्ना बताउँछन् । 

खाजा कार्यक्रमको रकमबाट खाना बनाउन आवश्यक हुने भाँडाकुडा खरिद संगै भान्सेको मासिक तलव ७ हजार रुपैयाँ व्यहोरिदै आएको छ । 

यो संगै खाजा कार्यक्रमको केही रकम बचत गरी विद्यालयका लागि आवश्यक दुई थान ल्यापटप खरिद गरिएका छन् । गर्मी मौसममा विद्यालयमा आउने अभिभावक, शिक्षक, विद्यार्थी लगायतलाई चिसो पिउने पानीका लागि र भान्साको सागपात, फलफूल लगायतका अन्य खाद्यन्न राख्नका लागि सोही कार्यक्रमबाट रकम बचत गरी एक थान रेफ्रिजेनेटर(फ्रीज) खरिद गरी सञ्चालमा ल्याइएको छ ।

विद्यालयमा दिवा खाजा कार्यक्रमसंगै अग्रेजी माध्यममा पढाई पनि हुने गरेको छ । नगर क्षेत्रका सामुदयिक विद्यालय मध्ये दिवा खाजा व्यवस्थामा नमूना कार्य गरेको नगर शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र जोशी बताउँछन् । 

विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई नगरपालिकाले थप प्रभावकारी बनाउन नगरपालिकाले अनुगमन संयन्त्रण निर्माण गरेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख टिकेन्द्रराज भट्टले बताए । दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैयाँका दरले वर्षमा १८० दिनका लागि शिक्षा शाखाले विद्यालयमा बजेट पठाउने गरेको छ ।

नगरपालिकामा ६५  बालविकास केन्दमा दुई हजार पाँच सय १८ र सामुदायिक विद्यालयको आधारभूत तह कक्षा १ देखि ५ सम्म पाँच हजार पाँच सय २० गरी आठ हजार ३८ बालबालिकालाई दिवा खाजा कार्यक्रममा समेटिएको छ । नगरपालिकामा ३२  सामुदायिक विद्यालय छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update